
काठमाडौं । तिहारका बेला आगामी एक साता नेपालका अधिकांश स्थानमा मौसम मुख्यतः सफा र घमाइलो रहने अनुमान गरिएको छ । एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि व्यापक वा लगातार वर्षाको सम्भावना नरहेको मौसमविद् विनोद पोखरेलले बताएका छन् ।
पोखरेलका अनुसार पछिल्ला दिनको जस्तै आगामी दिनमा पनि केही स्थानमा छिटपुट वर्षा हुन सक्ने देखिए पनि त्यसले देशव्यापी रूपमा मौसम प्रभावित पार्ने संकेत छैन । यसले धान काट्ने र भित्र्याउने तयारीमा रहेका किसानलाई सहज हुने उनको भनाइ छ । किसानले स्थानीय मौसमको अवस्था हेरेर कृषि कार्य अघि बढाउन सक्ने उनले बताएका छन् ।
मौसम खुल्दै जाँदा भने वायु प्रदूषण बढ्न सक्ने जोखिमप्रति पनि ध्यान दिनुपर्ने पोखरेलले बताएका छन् । उनले अबदेखि मौसमको पूर्वानुमानसँगै वायु प्रदूषणको अवस्थाबारे पनि नियमित जानकारी साझा गर्न थालेका छन् ।
उनले आगामी पाँच दिनको प्रत्येक छ घण्टाको अन्तरालमा हावामा रहने सूक्ष्म कण अर्थात् पीएम २.५ को सम्भावित मात्रा देखाउने पूर्वानुमान सार्वजनिक गरेका छन् । वास्तविक प्रदूषणको अवस्था स्थान र समयअनुसार फरक हुन सक्ने उनले स्पष्ट पारेका छन् ।
पीएम २.५ भनेको व्यास २.५ माइक्रोमिटर वा त्यसभन्दा साना धुलो तथा प्रदूषणका कण हुन् । यस्ता सूक्ष्म कण श्वासप्रश्वासका माध्यमबाट फोक्सोसम्म पुग्न सक्छन् । सवारीसाधनबाट निस्कने धुवाँ, उद्योग, फोहोर तथा जैविक पदार्थ जलाउँदा निस्कने धुवाँ र धुलो यस्ता कणका प्रमुख स्रोत हुन् ।
नेपालमा मनसुन सकिएपछि वर्षा कम हुने र वातावरण क्रमशः सुक्खा हुँदै जाने भएकाले वायु प्रदूषणको जोखिम पनि बढ्न सक्छ । वर्षाले हावामा रहेका प्रदूषित कण हटाउन सहयोग गर्छ । तर वर्षा कम हुँदा र हावाको आवागमन कमजोर हुँदा धुवाँ तथा धुलोका कण वातावरणमा लामो समय रहन सक्छन् । काठमाडौं उपत्यकाजस्ता भूगोलले घेरिएका क्षेत्रमा यस्तो समस्या अझ देखिन सक्छ ।
त्यसैले घाम लागिरहेको वा आकाश सफा देखिएको अवस्थामा पनि हावा स्वच्छ नै छ भन्ने हुँदैन । मौसमको अवस्था हेर्नुका साथै आफ्नो क्षेत्रको वायु गुणस्तरबारे पनि जानकारी राख्नुपर्ने पोखरेलको सुझाव छ ।

























