
इलाम । सूर्योदयको मनमोहक दृश्यका लागि प्रसिद्ध इलामको अन्तुमा यतिबेला पर्यटकको चाप बढेको छ । बिहान झिसमिसेमै अन्तु डाँडा पुगेर सूर्योदय हेर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या दैनिक बढिरहेको छ । विशेषगरी दसैँ–तिहारको बिदा मनाउन बाहिरी जिल्लाबाट आउने नेपाली र भारतीय पर्यटक अन्तुमा बढी देखिएका छन् ।
सूर्योदयको दृश्यावलोकनसँगै चियाबारी घुम्ने, अन्तु पोखरीमा डुङ्गा सयर गर्ने र स्थानीय वातावरणमा रमाउने अवसरले पर्यटकलाई आकर्षित गरेको छ । अन्तुमा वर्षभरि नै पर्यटक आउने भए पनि कात्तिकमा आकाश खुल्ने भएकाले यस समयमा पर्यटकको चाप बढी हुने गरेको छ ।
स्थानीय व्यवसायीका अनुसार अन्तुका होमस्टे, कटेज र सुविधासम्पन्न होटलमा आगामी १५ दिनसम्मका लागि अधिकांश कोठा बुकिङ भइसकेका छन् । पर्यटन व्यवसायी संघ अन्तुका सचिव रुद्र घिमिरेका अनुसार अहिले दैनिक करिब ३ हजार ५०० देखि ४ हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक अन्तु पुगिरहेका छन् ।
सूर्योदय नगरपालिकाको फिक्कलस्थित छिविटारबाट १४ किलोमिटर पक्की सडक पार गरेपछि अन्तु पुग्न सकिन्छ । यहाँ अहिले एक सयभन्दा बढी होमस्टे, होटल र कटेज सञ्चालनमा छन् ।
अन्तुमा पर्यटकको चाप बढिरहँदा नजिकैको कन्याममा भने पर्यटकको बसाइ अवधि बढाउने चुनौती रहेको व्यवसायी बताउँछन् । कन्याममा आउने अधिकांश पर्यटक केही घण्टा चियाबारी घुमेर फर्कने गरेका छन् । स्थानीय पर्यटन व्यवसायी सुमित श्रेष्ठका अनुसार पर्यटकलाई चियाबारे जानकारी गराउने र उनीहरूलाई एक–दुई दिनसम्म कन्याममै बस्न प्रेरित गर्ने कार्यक्रम आवश्यक छ ।
व्यवसायीका अनुसार कन्याम क्षेत्रका अधिकांश होटल पनि आगामी सात दिनभन्दा बढीका लागि बुकिङ भइसकेका छन् ।अन्तु र कन्यामसँगै इलामका अन्य पर्यटकीय स्थलमा पनि यतिबेला पर्यटकको चहलपहल बढेको छ । सन्दकपुर, छिन्टापु, धार्मिक तथा पर्यटकीय स्थल माइपोखरी, गजुरमुखी र पानीटारमा समेत दसैँ–तिहारको बिदा मनाउन आउने पर्यटकको आवागमन बढेको छ ।

























