
काठमाडौं । नेपाली कांग्रेसले नवनिर्वाचित पदाधिकारीहरूको अनौपचारिक बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार काठमाडौंमा उपलब्ध पदाधिकारीलाई बैठकमा बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।
‘दिउँसो ३ बजे काठमाडौंमा उपलब्ध पदाधिकारीको अनौपचारिक बैठक आह्वान भएको छ । समसामयिक राजनीतिबारे कुराकानी हुन्छ,’ दुलालले भने । उपसभापति मधु आचार्यले बैठकमा पदाधिकारीको कार्यविभाजन र समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिए ।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न पार्टीको १५औँ महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भए पनि पदाधिकारीहरूको जिम्मेवारी बाँडफाँट हुन सकेको छैन । कार्यविभाजनको विषय टुंग्याउन नेताहरूबीच छलफल हुन लागेको हो ।

























