
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापालाई पक्राउ गर्ने प्रयास भए त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
ललितपुरको बज्रबाराहीमा बिहीबार आयोजित कार्यक्रममा राणाले सरकारले सभापति थापाविरुद्ध प्रतिशोधपूर्ण कदम चाल्न खोजे कांग्रेस चुप लागेर नबस्ने बताए ।
उनले अन्य दलका नेता डराएर बसे पनि गगन थापा र कांग्रेस नडराउने दाबी गरे । सरकारले आफूहरूविरुद्ध गर्न सक्ने सबै कदम चाल्न चुनौती दिँदै उनले त्यसको सामना गर्न तयार रहेको बताए ।
‘के–के गर्न सक्ने हो, गरे हुन्छ । हामी सामना गर्न तयार छौँ । पत्रकार डराएर समाचार लेखिरहेका छन् । विपक्षी दलका अरू नेता पनि डराएर बसेको अवस्था छ । एउटै नडराएको भनेको गगन थापा र गगन थापा नेतृत्वको पार्टी हो । हामी डराउने छैनौँ’, उनले भने ।
राणाले कांग्रेसका नेताहरूलाई विगतमा राणा शासन, पञ्चायत र राजा ज्ञानेन्द्रको शासनकालमा पनि दबाउन नसकिएको उल्लेख गर्दै अहिले पनि कुनै दबाबबाट पछि नहट्ने बताए । ‘माफिया लगाए पनि हुन्छ, अदालत लगाउन सक्ने भए पनि लगाए हुन्छ । हामी सामना गर्न तयार छौँ । किनकि हाम्रो हात सफा छ, हामी स्पष्ट छौँ’, उनले भने ।

























