
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले आज (बिहीबार) प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गर्ने भएका छन् । दुई देशबीच उच्चस्तरीय भ्रमणको तयारी भइरहेका बेला हुन लागेको यस भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
काठमाडौंमा रहेका मिश्रीले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्न लागेका हुन् । भेटपछि उनी बिहीबार अपराह्न भारत फर्किने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको तयारीका लागि मिश्री बुधबार बिहान काठमाडौं आएका थिए । भ्रमणको क्रममा उनले नेपाल सरकारका विभिन्न मन्त्री तथा उच्च अधिकारीसँग छलफल गरेका छन् ।
उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै भेट गरेका थिए । परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि उनको भेटवार्ता भएको थियो ।
मिश्रीको भ्रमणलाई प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीसँग जोडेर हेरिएको छ । नेपाल र भारतका अधिकारीहरूबीच मंसिर दोस्रो साताभित्र प्रधानमन्त्री शाहको भारत भ्रमण गराउने गरी गृहकार्य भइरहेको स्रोतले जनाएको छ ।
यसअघि प्रधानमन्त्रीसँग भेट्ने समय नमिलेपछि मिश्रीको निर्धारित नेपाल भ्रमण स्थगित भएको समाचार सार्वजनिक भएको थियो । त्यसैले यसपटकको भेटवार्तालाई थप चासोका साथ हेरिएको छ ।
यसैबीच, नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार काठमाडौं आइपुगेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले कात्तिक ११ गते नियमित पत्रकार भेटघाटमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निमन्त्रणा दिइसकिएको जानकारी दिएका थिए ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरू प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति छिट्टै सार्वजनिक गर्ने तयारीमा छन् । मिश्रीको भ्रमणपछि भ्रमणको मिति टुंगो लागेर सार्वजनिक हुन सक्ने स्रोतको भनाइ छ ।

























