
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चाडपर्वका बेला नागरिकको सुरक्षा सुनिश्चित गर्न र मुलुकको समग्र शान्ति–सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् ।
छलफलका क्रममा उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय, सूचना आदानप्रदान तथा सहकार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिए।
नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राख्न पनि उनले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

























