
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने निर्णयको औचित्य सरकारले नै पुष्टि गर्ने बताएका छन् ।
बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुरक्षा निकायको नेतृत्व हेरफेर संवेदनशील विषय भएकाले सरकारले कुनै निश्चित समयमा यसबारे स्पष्ट पार्ने विश्वास व्यक्त गरे ।
‘आईजीपी प्रकरणमा पार्टीले कुनै पनि सरकारले काम गर्न आवश्यक पर्ने कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ । त्यो औचित्य सरकारले पुष्टि गर्ला,’ लामिछानेले भने ।
उनले पार्टीले आईजीपी, डीएसपी वा इन्स्पेक्टर हटाउन अथवा नियुक्त गर्न सरकारलाई निर्देशन नदिने पनि स्पष्ट पारे । ‘पार्टी प्रवक्ताले यसलाई स्पष्ट पारिसक्नुभएको छ । पार्टीले आईजीपी, डीएसपी, इन्स्पेक्टर फेर भनेर विल्कुल भन्दैन,’ उनले भने ।
लामिछानेले सरकार र पार्टीबीच तालमेल नभएको भन्ने चर्चामा पनि सत्यता नरहेको दाबी गरे । सरकारले आफ्नो काम गरिरहेको उल्लेख गर्दै उनले काम अझ राम्रोसँग होस् भन्ने अपेक्षा भने सधैँ रहने बताए ।
‘सरकारले आफ्नो काम गरिरहेको छ । अझै सही ढंगले गरिदिए हुन्थ्यो भन्ने सधैँ रहिरहन्छ । पार्टी र सरकारबीच तालमेल नै नभएको हो कि भन्ने जुन कुरा छन्, त्यो केही छँदै छैन,’ उनले भने ।
सरकारका काममा थप स्पष्टता आवश्यक परे वा प्रश्न उठे पार्टीले त्यसबारे चासो राख्ने र स्पष्ट पार्ने गरेको उनको भनाइ छ । पार्टीले गरेका सबै निर्णयमा सरकारले समर्थन गर्नुपर्ने र सरकारले गरेका सबै काममा पार्टीले सहमति जनाउनुपर्ने अवस्था नरहेको पनि उनले बताए ।
‘पार्टीले गरेका हरेक कुरामा सरकारले हो मा हो मिलाउँदैन, पार्टीले गरेका कुरामा पनि सरकारले हो मा हो मिलाउँदैन,’ लामिछानेले भने ।

























