
एजेन्सी । पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सन्देश सार्वजनिक गर्दै राष्ट्रिय टोलीको यात्रा टुङ्ग्याउने बताएका हुन् ।
पोर्चुगलका लागि २३ वर्ष खेलेका रोनाल्डोले २३४ खेलमा १४६ गोल गरेका छन् । उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र गोल गर्ने खेलाडी हुन् । उनले आगामी नोभेम्बरको अन्तर्राष्ट्रिय खेलपछि राष्ट्रिय टोलीको सात नम्बर जर्सी नयाँ पुस्तालाई सुम्पिने बताएका छन् ।
‘पोर्चुगाली जनताका लागि राष्ट्रिय टोलीको सात नम्बर जर्सी फिर्ता गर्ने समय आएको छ’, उनले भिडियो सन्देशमा भनेका छन् । उनले २३ वर्षसम्म उक्त जर्सी लगाउन पाउनु आफ्नो विशेषाधिकार र जिम्मेवारी भएको पनि बताएका छन् ।
गत महिना राष्ट्रिय टोलीका प्रशिक्षक जर्ज जेसससँग खेलमा सहभागी गराउने विषयमा मतभेद भएपछि रोनाल्डो टोलीको शिविर छाडेर बाहिरिएका थिए । नेसन्स लिगको एक खेलमा आफूलाई मैदानमा नउतारेपछि उनीहरूबीच सम्बन्ध चिसिएको थियो ।

























