पाँचथरमा लोप हुँदै जाँतो बनाउने पेसा

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २०, शुक्रबार ०८:५१

पाँचथर । गाउँगाउँमा आधुनिक कुटानी-पिसानी मिल विस्तार भएसँगै ढुङ्गा खोपेर जाँतो बनाउने परम्परागत पेसा लोप हुने अवस्थामा पुगेको छ । जाँतोको माग घट्दै गएपछि पाँचथरको हिलिहाङ गाउँपालिका-१ दोरुम्बाका जोगी समुदायले पुस्तौँदेखि गर्दै आएको पेसा छाड्न थालेका छन् ।

हिलिहाङ गाउँपालिका-१ र २ मा बसोबास गर्ने जोगी समुदायका युवाले परम्परागत रूपमा जाँतो बनाउँदै आएका थिए । उनीहरूबाट सीप सिकेर तामाङ र दलित समुदायका मानिसले पनि यो पेसा अँगालेका थिए । तर, काम कठिन हुनु, माग घट्नु र युवाहरू अन्य पेसा तथा वैदेशिक रोजगारीमा आकर्षित हुनुले जाँतो बनाउने काम सङ्कटमा परेको स्थानीय बताउँछन् ।

दोरुम्बाका खड्गप्रसाद जोगीले २१ वर्षको उमेरदेखि जाँतो बनाउन थालेका थिए । आफूले काम सुरु गर्दा एकजोर जाँतोको मूल्य ४० रुपैयाँ पर्ने र खाद्यान्न अभावका बेला पाँच पाथी धान, मकै वा कोदोसँग पनि जाँतो साट्ने गरेको उनले सम्झिए । अहिले एकजोर जाँतोको मूल्य दुई हजार ५०० देखि तीन हजार रुपैयाँसम्म पुगे पनि बनाउने युवा नभएको उनको भनाइ छ ।

करिब ४० वर्ष जाँतो बनाएका खड्गप्रसादले ६१ वर्ष पुगेपछि शारीरिक कठिनाइका कारण तीन वर्षअघि पेसा छाडेका हुन् । उनका अनुसार एउटा जाँतो बनाउन दुईदेखि तीन दिन लाग्छ । ढुङ्गा निकाल्नेदेखि खोपेर आकार दिनेसम्मको काम निकै कठिन हुन्छ । हिलिहाङ-२ स्थित बिजुलीभञ्ज्याङ सामुदायिक वन क्षेत्रमा पाइने दर्शन र खरी ढुङ्गाबाट जाँतो बनाइने गरेको उनले बताए । ढुङ्गा पाइने स्थानसम्म पुग्न करिब एक घण्टा पैदल हिँड्नुपर्छ ।

खड्गप्रसादले यहाँ बनेका जाँतो काठमाडौंसम्म र भारतका पूर्वी राज्यसम्म पुगेको बताए । विगतमा पाँच घर जोगी, एक घर दलित र दुई घर तामाङ समुदायले जाँतो बनाउने गरेकामा अहिले अधिकांशले पेसा छाडिसकेका छन् ।

दोरुम्बाकै नेत्रप्रसाद जोगीले ११ वर्षको उमेरमा जाँतो बनाउने सीप सिकेका थिए । उनले पनि चार वर्षअघि पेसा छाडे । ढुङ्गा खोज्न र बोक्न कठिन हुने तथा उपभोक्ताले मूल्य महँगो भएको गुनासो गर्ने गरेकाले पेसा निरन्तरता दिन नसकेको उनले बताए । उनका अनुसार यहाँका जोगी समुदायले १९३२ सालदेखि जाँतो बनाउँदै आएको इतिहास छ । उनले २०५१ सालदेखि व्यावसायिक रूपमा जाँतो बनाउन थालेका थिए ।

अहिले दोरुम्बामा जाँतो बनाउने मनकुमार नेपाली मात्रै छन् । छिमेकीसँग काम गर्दागर्दै सीप सिकेका उनले २३ वर्षदेखि यो पेसा गर्दै आएका छन् । माग थोरै भए पनि २० जोरभन्दा बढी जाँतोको अर्डर आएमा पुराना साथीहरूलाई समेत बोलाएर काम गर्न सकिने उनको भनाइ छ । तर, नयाँ पुस्ता यो कामप्रति आकर्षित नभएकाले पेसा नै लोप हुने चिन्ता उनले व्यक्त गरे ।

यातायात सुविधा नहुँदा विगतमा यहाँ बनेका जाँतो ढाकर, डोको र बोरामा बोकेर बजार तथा गाउँसम्म पुर्‍याउने गरिन्थ्यो । अहिले आधुनिक मिलको विस्तारसँगै जाँतोको प्रयोग घटेको छ । परम्परागत सीप र पेसा जोगाउन माग बढ्नुका साथै नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्नुपर्ने स्थानीयको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.