तस्बिर: एआइकाठमाडौं । नेपालमा बर्सेनि करिब ८० हजार मानिस जलनबाट प्रभावित हुने गरे पनि उपचारको नेतृत्व गर्ने प्लास्टिक सर्जनको संख्या ३० जनाको हाराहारीमा सीमित छ। गम्भीर जलनमा पर्ने ६ देखि ७ हजार बिरामीमध्ये धेरैले सहज र समयमै विशेषज्ञ उपचार पाउन नसक्ने अवस्था छ।
जलनका बिरामीको बढ्दो चाप र विशेषज्ञ जनशक्तिको अभावलाई मध्यनजर गर्दै सरकारले सातै प्रदेशका प्रादेशिक अस्पतालमा ‘लेभल थ्री’ जलन उपचार केन्द्र स्थापना गर्ने तयारी अघि बढाएको छ। यसका लागि जनरल सर्जन, आईसीयू नर्स, ओटी नर्स र वार्डका स्वास्थ्यकर्मी सम्मिलित टोलीलाई विशेष तालिम दिन थालिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सरकारको १०० कार्यदिने प्राथमिकतामा रहेको जलन उपचार सेवा सुदृढीकरण कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरिएको हो । पहिलो चरणमा सुर्खेत र वीरगन्जका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ३० कार्यदिनको सघन तालिम दिइसकिएको छ।
तालिमपछि प्रादेशिक अस्पतालमै २० प्रतिशतसम्म जलन भएका बिरामीको उपचार गर्न सक्ने जनशक्ति तयार हुने अपेक्षा गरिएको छ। तालिममा शल्यक्रिया, आईसीयू तथा वार्डमा गरिने आकस्मिक उपचारका सैद्धान्तिक र व्यावहारिक सीप सिकाइन्छ।
कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार नयाँ प्लास्टिक सर्जन उत्पादन गर्न लामो समय लाग्ने भएकाले जनरल सर्जरी गरेका चिकित्सकलाई विशेष तालिम दिएर उपचार सेवामा परिचालन गर्ने योजना बनाइएको हो। हाल सामान्य जलनका बिरामीसमेत उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता रहेको उनले बताए।
कीर्तिपुर अस्पतालमा जलन उपचार सुरु भएको सन् २०१४ मा ९० जना बिरामी भर्ना भएकामा गत वर्ष यो संख्या बढेर करिब ९०० पुगेको छ। अस्पतालमा दैनिक ३० जनाभन्दा बढी बिरामी भर्ना हुने गरेका छन् भने ओपीडीमा ३० देखि ३५ जना बिरामी आउने गरेका छन्।
डा. नकर्मीले उपचारमा सर्जिकल उपकरणको अभाव नरहे पनि अत्याधुनिक ड्रेसिङ सामग्री र कृत्रिम छालाजस्ता महँगा सामग्रीको सहज उपलब्धता चुनौतीपूर्ण रहेको बताए। प्रादेशिक अस्पतालमा उपचार सेवा विस्तारसँगै दक्ष जनशक्ति, आवश्यक सामग्री, बजेट र प्रोत्साहनको व्यवस्था गर्न सके जलनका बिरामीले आफ्नै क्षेत्रमा उपचार पाउने अपेक्षा गरिएको छ।

























