
एजेन्सी । इजिप्टको गिजा सहरनजिकै दुई रेल आपसमा ठोक्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् ।
इजिप्टको रेलवे प्राधिकरणका अनुसार गिजाबाट कायरो हुँदै दक्षिणतर्फ गइरहेका दुई रेल एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा रेलका कैयौँ डिब्बा लिकबाट खसेर पल्टिएका थिए ।
दुर्घटनापछि उद्धारकर्मीहरूले पल्टिएका डिब्बाभित्र फसेका यात्रुको खोजी तथा उद्धार गरेका थिए । घाइतेहरूलाई तत्काल अस्पताल पुर्याइएको छ ।
इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्न र लापरबाही भएको पाइएमा सम्बन्धित व्यक्तिलाई कारबाही गर्न सरकारी निकायलाई निर्देशन दिएका छन् । सरकारले प्रभावित क्षेत्रका अस्पताललाई उच्च सतर्कतामा राखेको जनाएको छ ।
स्वास्थ्यमन्त्री डा. खालेद अब्देल गफ्फारका अनुसार घाइतेमध्ये केहीको हड्डी भाँचिएको छ भने केहीको टाउकोमा चोट लागेको छ । सरकारी अभियोजन कार्यालयले मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएको छ । दुर्घटनामा एक रेल चालकको समेत मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
इजिप्टियन रेडक्रसले घटनास्थलमा पीडित तथा उनीहरूका परिवारलाई राहत र मनोसामाजिक सहयोग उपलब्ध गराइरहेको जनाएको छ ।
प्रारम्भिक विवरणअनुसार गिजाबाट दक्षिणी कायरोस्थित फयुमतर्फ गइरहेको रेलले कायरोबाट अस्वानतर्फ जाने अर्को रेललाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्कर खाएको रेल ट्र्याकमै रोकिएको अवस्थामा रहेको बताइएको छ ।

























