चीनको भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २३, सोमबार १३:१६

एजेन्सी । चीनको उत्तरी प्रान्त शान्सीको राजधानी ताइयुआनस्थित एक अग्लो भवनमा आइतबार साँझ आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् । स्थानीय यिङजे जिल्ला सरकार र सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार ताइयुआनको डाउनटाउनमा रहेको हाओशेङ इन्टरनेसनल अपार्टमेन्ट भवनमा स्थानीय समयअनुसार आइतबार साँझ ४ः५९ बजे आगलागी सुरु भएको थियो ।

करिब दुई घण्टाको प्रयासपछि साँझ ७ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो । राति ८ः३० बजे उद्धार कार्य सकिएको थियो । आइतबार राति ३८ जनालाई अस्पताल पुर्‍याइएकोमा पाँच जनाको मृत्यु भएको थियो । सोमबार बिहानसम्म मृतकको सङ्ख्या बढेर १४ पुगेको सिन्ह्वाले जनाएको छ ।

यिङजे जिल्ला सरकारले घाइतेहरूको उपचारमा सम्पूर्ण प्रयास भइरहेको र आगलागीको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ । रियल इस्टेट प्लेटफर्म लियान्जियाका अनुसार उक्त भवन आवासीय र व्यावसायिक दुवै प्रयोजनका लागि प्रयोग हुँदै आएको थियो । अस्पताल, विद्यालय, व्यापारिक केन्द्र र पर्यटकीय क्षेत्र नजिक रहेको भवनमा होटल, रेस्टुरेन्ट तथा बालबालिकाका शैक्षिक तालिम केन्द्रसमेत सञ्चालनमा थिए ।

भवनस्थित एक होटलका कर्मचारीले जिमु न्युजलाई बताएअनुसार आगो पाँचौँ तलाबाट सुरु भएको अनुमान छ । आगलागीमा आठौँ तलामा रहेका केही व्यक्ति घाइते भएका थिए । ती कर्मचारीले भवनको केही भाग जलिरहेकै बेला अग्निनियन्त्रकहरूलाई जीवित व्यक्तिको खोजीमा सघाएका थिए ।

होटलमा बसेका लान नामका एक पाहुनाले ‘द बेइजिङ न्युज’सँग कुरा गर्दै सुतिरहेका बेला धुवाँको गन्ध आएपछि भिजेको तौलिया लिएर बाहिर निस्किएको बताए । आपतकालीन निकासतर्फ जाँदै गर्दा बाटोमा भेटिएका अन्य पाँच जनासँग मिलेर उनीहरूले झ्यालको जाली लात्तीले हानेर फुटाएका थिए । त्यसपछि भवनबाहिरको प्लेटफर्ममा पुगेका उनीहरूलाई करिब ४० मिनेटपछि अग्निनियन्त्रकहरूले उद्धार गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.