
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग पुनः युद्ध हुने सम्भावना अत्यन्त कम रहेको बताएका छन् । तर इरानले अमेरिकासँग भरपर्दो र बलियो सम्झौतामा हस्ताक्षर नगरे आवश्यक परे पुनः आक्रमण गर्ने चेतावनी पनि उनले दिएका छन् ।
‘सीएनएन’ सँगको अन्तर्वार्तामा ट्रम्पले इरानसँग फेरि युद्ध हुने सम्भावना ‘अत्यन्त कम’ रहेको बताएका हुन् । ‘यो अत्यन्त असम्भव छ । तर उनीहरूले भरपर्दो र बलियो सम्झौतामा हस्ताक्षर गर्छन् कि गर्दैनन् भन्नेमा निर्भर गर्छ,’ उनले भने ।
केही सातायता ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने चेतावनी दिँदै आएका थिए । अमेरिकी सञ्चारमाध्यमहरूले गत मङ्गलबार सम्पन्न मध्यावधि निर्वाचनपछि इरानसँग फेरि सैन्य द्वन्द्व सुरु हुन सक्ने आकलन गरेका थिए ।
ट्रम्पले आवश्यक परे इरानमाथि पुनः आक्रमण गर्न अमेरिका तयार रहेको पनि बताए । ‘हामीले उनीहरूलाई निकै कडा प्रहार गरेका छौँ । आवश्यक परे फेरि आक्रमण गर्नेछौँ,’ उनले भने ।
इरानमाथि लगाइएको आर्थिक दबाबले त्यहाँको नेतृत्वलाई अमेरिकी सर्त स्वीकार गर्न बाध्य पार्ने ट्रम्पको दाबी छ । इरान आर्थिक रूपमा कमजोर बन्दै गएको उल्लेख गर्दै उनले त्यसलाई असफल राष्ट्रको संज्ञासमेत दिए ।
ट्रम्पले इरानको मुद्रास्फीति यस वर्ष ३०१ प्रतिशत पुगेको दाबी गरेका छन् । तर इरानका आधिकारिक तथ्यांकअनुसार सेप्टेम्बरमा वार्षिक मुद्रास्फीति करिब ९० प्रतिशत थियो ।

























