
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) साहले नेपाल संवत् ११४७, न्हूदँया भिन्तुना तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री साहले नेपाल संवत् राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन् ।
उनले नेवार समुदायमा मनाइने म्हः पूजाले आत्मशुद्धि, चेतनाको बोध, आपसी सद्भाव र जातीय एकतालाई बलियो बनाउने बताएका छन् । आफ्नै शरीर र चेतनालाई साक्षी राखेर गरिने म्हः पूजाको परम्परा नेपाली मौलिक संस्कृतिका लागि गौरवको विषय भएको उनको भनाइ छ ।
गोवर्धन पूजा तथा हली तिहारको सांस्कृतिक र धार्मिक महत्त्व उल्लेख गर्दै उनले कृषि कर्ममा सहयोग गर्ने गोरु तथा कृषि औजारको पूजा गर्ने परम्पराले कृषि संस्कृतिको महत्त्व दर्शाउने बताएका छन् ।
भैलो र देउसीले छरछिमेकमा आत्मीयता र सद्भाव बढाउने उल्लेख गर्दै प्रधानमन्त्री साहले मौलिक चाडपर्वले आपसी रिसराग भुलेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । उनले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

























