भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २५, बुधबार ०७:००

विराटनगर । यस वर्षको तिहारअन्तर्गत बुधबार मुख्य दिन भाइटीका। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार  बिहान ११ बजेर ७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको छ ।

समितिका अध्यक्ष प्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ समय निर्धारण गरिएको हो ।

राज्य सञ्चालकले भने निर्धारित साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । सर्वसाधारणले भने मध्याह्नकालमा जुनसुकै समयमा टीका लगाउन सक्नेछन् ।

यस वर्ष यमपञ्चक कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धनतेरस) र यमदीपदानबाट सुरु भएको थियो । कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइएको थियो । कात्तिक २२ गते आइतबार नरक चतुर्दशी र कुकुर तिहार परेको थियो । सोही दिन साँझ लक्ष्मीपूजा गरिएको थियो ।

कात्तिक २३ गते सोमबार औँसीका दिन गरिने स्नान तथा दानको विधि पूरा गरिएको थियो । गाई, गोरु तथा आत्मपूजा कात्तिक २४ गते मंगलबार मनाइएको थियो । आत्मपूजा विशेषगरी नेवार समुदायले म्हपूजाका रूपमा मनाएका थिए । सोही दिन नेपाल संवत् ११४७ को नयाँ वर्ष पनि सुरु भएको थियो ।

यमपञ्चकको अन्तिम दिन बुधबार यमद्वितीया तथा भाइटीका मनाइँदैछ । नेवार समुदायमा यस दिन किजापूजा पनि गरिन्छ । समितिका अनुसार शास्त्रीय विधिअनुसार भाइटीका मध्याह्नकालमा लगाउने चलन छ । शास्त्रीय ग्रन्थमा उल्लेख भएको ‘भ्रातृपूजा’ शब्दले दाजुभाइ दुवैलाई बुझाउने भएकाले ज्येष्ठताको क्रमअनुसार टीका लगाउनु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।

भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको स्नेह, आत्मीयता र आपसी सम्बन्ध प्रगाढ बनाउने पर्वका रूपमा मनाइन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र मखमली तथा सयपत्री फूलको माला लगाइदिने, मिठाई तथा परिकार खुवाउने र दीर्घायु तथा सुखसमृद्धिको कामना गर्ने परम्परा छ । दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर सम्मान प्रकट गर्छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.