जलवायु उत्थानशील ऊर्जा पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड

Share this
784shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २५, बुधबार १२:५०

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नेपाल पभिलियनमा ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपिसी) र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को संयुक्त आयोजनामा भएको कार्यक्रममा जलवायु परिवर्तनका कारण ऊर्जा पूर्वाधारमा परेको असर, क्षति न्यूनीकरण र स्वच्छ ऊर्जामा लगानी बढाउने उपायबारे छलफल गरिएको थियो ।

प्रतिनिधिसभा सदस्य सागर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा एसियाली प्रविधि संस्थान (एआईटी), थाइल्यान्डका प्राध्यापक प्राडा शोभाकर ढकालले प्रमुख वक्ताका रूपमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण टर्कीको मिडल इस्ट टेक्निकल युनिभर्सिटीका होराइजन युरोप एमएससीए पोस्टडक्टोरल शोधकर्ता डा. मुकेश घिमिरेले गरेका थिए ।

छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्राविधिक तथा पूर्वाधार सल्लाहकार इन्जिनियर शिरीष पाण्डे, इप्पानकी कार्यसमिति सदस्य ज्योति गैरे र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई), दक्षिण कोरियाका वित्तीय रणनीतिक सहयोग एकाइ प्रमुख गुल्शन वशिष्ठ सहभागी थिए ।

कार्यक्रमको पहिलो चरणमा ऊर्जा पूर्वाधारमा पछिल्लो समय भएका क्षति र जलवायु उत्थानशीलताको आवश्यकताबारे छलफल भएको थियो । इन्जिनियर पाण्डेले ऊर्जा पूर्वाधारमा भएका क्षतिबारे जानकारी गराएका थिए भने गैरेले जलवायु उत्थानशील ऊर्जा पूर्वाधार निर्माणमा निजी क्षेत्रले भोगिरहेका चुनौती प्रस्तुत गरेकी थिइन् । वशिष्ठले जलवायुजन्य क्षति र उत्थानशील पूर्वाधारसम्बन्धी क्षेत्रीय अनुभव तथा विश्वव्यापी नयाँ प्रवृत्तिबारे चर्चा गरेका थिए ।

दोस्रो चरणमा जलवायु उत्थानशील ऊर्जा पूर्वाधार निर्माणका लागि आवश्यक योजना र लगानीका विषयमा छलफल गरिएको थियो । इन्जिनियर पाण्डेले जलवायु जोखिम सामना गर्न सरकारी योजना, रणनीति, ऊर्जा मिश्रण र ब्याट्री ऊर्जा भण्डारण प्रणालीको आवश्यकताबारे जानकारी गराएका थिए ।

गैरेले पूर्वाधार निर्माणमा निजी क्षेत्रले सामना गरिरहेका चुनौती र जोखिमबारे धारणा राखेकी थिइन् । वशिष्ठले जीजीजीआईको ऊर्जा लगानी अनुभव, वित्तीय संयन्त्र तथा नेपालको उदाहरणका रूपमा नेपाल पूर्वाधार बैंक (निफ्रा) को हरित ऊर्जा ऋणपत्रबारे चर्चा गरेका थिए । कार्यक्रममा सांसद ढकालले भोटेकोशी क्षेत्रको स्थलगत अनुभव र अन्तर्राष्ट्रिय सिकाइ प्रस्तुत गरेका थिए ।

मन्त्रालयका प्राविधिक तथा पूर्वाधार सल्लाहकार पाण्डेका अनुसार कार्यक्रमले नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिलाई एउटै मञ्चमा ल्याएर ऊर्जा पूर्वाधारमा बढ्दो जलवायु जोखिम, नेपालको उत्थानशीलताका प्राथमिकता र स्वच्छ ऊर्जा प्रणालीमा लगानी जुटाउने उपायबारे छलफल गर्ने अवसर दिएको छ । यसले जलवायु उत्थानशील ऊर्जा पूर्वाधार निर्माण र स्वच्छ ऊर्जा लगानीका लागि अनुकूल वातावरण बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.