
काठमाडौं । अमेरिकामा बेपत्ता भएकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या मुद्दामा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । भर्जिनियास्थित अदालतले मंगलबार छ हप्ता लामो सुनुवाइपछि नरेशलाई प्रथम श्रेणीको हत्याको कसुरमा दोषी ठहर गरेको हो । अदालतले उनलाई शवको अपमान गरेको र लुकाएको अभियोगमा पनि दोषी पाएको छ ।
सुनुवाइका क्रममा नरेशले ममता शयनकक्षमा मृत अवस्थामा फेला परेको र आफूले शव व्यवस्थापन मात्र गरेको दाबी गरेका थिए । तर सरकारी वकिलले उनको भनाइ आधारहीन रहेको भन्दै त्यसलाई अस्वीकार गर्न जुरीसमक्ष आग्रह गरेका थिए ।
वरिष्ठ सहायक कमनवेल्थ्स अटर्नी सारा सामीले नरेशले ममताको हत्या गरी शरीर टुक्राटुक्रा पारेर फोहोर फाल्ने ठाउँमा फालिदिएको बताइन् ।
सामीले भनिन्, ‘प्रतिवादीले ममता काफ्लेको हत्या गरे, उनको शरीर टुक्राटुक्रा पारे र फोहोरजस्तै फाले ।’ उनले थपिन्, ‘उनले भर्जिनियाको लुरायस्थित फोहोर फाल्ने ठाउँलाई नै ममताको अन्तिम विश्रामस्थल बनाइदिए । पीडित परिवारका लागि ममता सधैँ हराइरहेकी हुनेछिन् । उनी अब जीवित छैनन्, तर उनी अझै पनि हराएकी छिन्, किनभने परिवारले कहिल्यै उनको अन्त्येष्टि वा अन्तिम संस्कार गर्न पाउने छैन । उनी टुक्राटुक्रा भएर कतै फोहोरको थुप्रोमा थिचिएर रहेकी छन् । यो परिवारले अब यही यथार्थसँग बाँच्नुपर्नेछ ।’
प्रथम श्रेणीको हत्याको कसुरमा नरेशलाई कम्तीमा २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्छ । यसबाहेक शव लुकाएको र अपवित्र पारेको प्रत्येक कसुरमा पाँच वर्षसम्म कैद हुन सक्ने कानुनी व्यवस्था छ । अदालतले आगामी मार्चमा उनलाई हुने अन्तिम सजाय निर्धारण गर्नेछ । फैसला सुनाइएपछि अदालतबाहिर भेला भएका ममताका साथी तथा स्थानीय नेपाली समुदायले निर्णयको स्वागत गरेका छन् ।

























