भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २५, बुधबार ११:२२

काठमाडौं । भाइटीकाका दिन सार्वजनिक यातायातको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

सर्वसाधारणको आवागमन सहज बनाउने उद्देश्यले सशस्त्र प्रहरीले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्र समेट्ने गरी तीनवटा बस सञ्चालनमा ल्याएको हो । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने उक्त सेवामा यात्रुले कुनै शुल्क तिर्नुपर्ने छैन । सशस्त्र प्रहरी बलको स्वयम्भूस्थित प्रधान कार्यालयबाट सञ्चालन हुने बसहरूले उपत्यकाका विभिन्न प्रमुख क्षेत्रलाई जोड्नेछन् । पहिलो बस बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै सञ्चालन हुनेछ ।

त्यस्तै, दोस्रो बस सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क क्षेत्र हुँदै चल्नेछ । तेस्रो बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली क्षेत्रलाई समेट्नेछ ।

भाइटीकाका दिन दिदीबहिनी तथा आफन्तकोमा टीका लगाउन जाने यात्रुका साथै अत्यावश्यक कामले घरबाहिर निस्कनुपर्ने सर्वसाधारणलाई सहजता प्रदान गर्ने उद्देश्यले सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । चाडपर्वका बेला सार्वजनिक सवारीसाधन कम सञ्चालन हुने भएकाले सशस्त्र प्रहरीको यो पहलले निजी सवारीसाधन नभएका तथा सार्वजनिक यातायातमा निर्भर यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.