जीवन एक यात्रा

Share this
762shares
मुलुकी खबर
सुजन विश्वकर्मा
clock२०८३ कात्तिक २८, शनिबार ०७:३०

जीवन आफैँलाई खोज्ने लामो यात्रा हो ।

यात्राले नै जीवनलाई सुन्दर बनाउँछ । एउटा यात्रा सकिनु भनेको अर्को नयाँ यात्रा सुरु हुनु हो । सकुन्जेल जीवनमा यात्रा गर्न कहिल्यै छोड्नु हुँदैन। नसकेको दिन कल्पनाको यात्रा सुरु हुन्छ, जहाँ न सुरुवात हुन्छ, न त अन्त्य ।

जीवनको कुनै न कुनै यात्रामा मान्छे अवश्य थाक्छ, गल्छ । कहिले सुख अनुभूत गर्छ, कहिले दुःख पनि महसुस गर्छ। तर कल्पनाको यात्राले मान्छेलाई कहिल्यै निराश बनाउँदैन ।

मेरो लागि जीवन आफैँलाई खोज्ने छोटो यात्रा पनि हो ।

आयु हुने हरेक मान्छेलाई आफूले पाउने उमेर सधैँ अपर्याप्त लाग्छ । संसारमा चिरञ्जीवी कोही हुँदैन। यदि हुन्थ्यो भने उसलाई पनि कुनै दिन मर्ने ठूलो भोक लाग्दो हो । अर्थहीन समयले लक्ष्य पूरा हुँदैन । किनकि दृढ उद्देश्य बोकेका मानिसले जीवनको उत्तरार्धमा पनि ठूलो फड्को मारेका छन् ।

सुनिरहँदा अनौठो लाग्न सक्छ । आफैँलाई गुमाउनेहरूले नै आफूलाई खोज्ने हो । आफू भएको थाहा पाउनु नै अन्तिम सुख हो। त्यसपछि केही खोजिरहनु पर्दैन । सबै कुरा आफैँभित्र भेटिन थाल्छन् ।

रमाउन जाने जहाँ गए पनि सुख हुन्छ, रमाउन नजाने महल पनि निरर्थक लाग्न थाल्छ । यहाँ केही नयाँ खोज्नु पर्दैन, हराएका कुराहरू खोज्ने हो । जुन कुरा आफ्नो कहिल्यै थिएन, त्यसलाई सम्झेर आफूसँग भएका चिजहरूको मूल्य भुल्नु हुँदैन ।

कम्तीमा एकपटक आफ्नो उद्देश्य अवश्य खोज्नुपर्छ । हरेक कुराको कारण हुन्छ । हामी हुनुको पनि केही न केही कारण अवश्य छ । हजारौँ बाटा छन् । तर त्यही बाटो हिँड्नु, जुन दुर्गम छ। सुगम, सरल र सहज बाटोको गन्तव्य सधैँ अर्थपूर्ण हुन्छ भन्ने छैन ।

ठेस लाग्न सक्छ, तर रोकिनु हुँदैन । केही दृश्य विशेष लाग्न सक्छन्, तर त्यहीँ अडिरहनु हुँदैन । बगिरहनु, बग्दै जानु । पानीलाई कसैले छेक्न सक्दैन ।

ए जीवन! तँ पानीजस्तै हुनु । निराकार र निश्छल। परिस्थितिले कुच्चिएको भाँडो दिए पनि त्यहाँ सहजै अटाउन सकूँ । समयले महँगो कप दिएको बेला त्यहाँ पनि सजिलै अटाउन सकूँ । यति सन्तुलित हुन सकूँ कि मलाई मेरै आकार थाहा नहोस् ।

तर मलाई मेरो मूल्य सधैँ याद रहोस्। मलाई खल्लो ठानेर छाडेर जानेहरू पनि थाकेर, पछुताउँदै मतिर फर्किऊन् र बुझून्-एकएक थोपाको महत्त्व । यति उपयोगी हुन सकूँ कि मलाई आफ्नै अहङ्कारको भान नहोस् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.