
जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारको कार्यशैलीले लोकतन्त्र कमजोर हुने र मुलुकमा अराजकता बढ्ने खतरा रहेको आरोप लगाएका छन् ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पौडेलले सरकारले विधिको शासनको मर्मविपरीत काम गरिरहेको आरोप लगाए । विगतमा प्रश्न गर्नेहरूलाई हेप्ने र पुराना दललाई सत्तोसराप गर्ने नयाँ दल सरकारमा पुगेपछि झन् बढी अराजक बन्न खोजेको उनको भनाइ थियो ।
सरकारलाई प्रश्न गर्नेहरूलाई थुन्ने, अपमानित गर्ने र विधिको शासनको बेवास्ता गर्ने प्रवृत्ति देखिएको भन्दै उनले पछिल्ला घटनाक्रमले सरकारको व्यवहार लोकतान्त्रिक सिद्धान्तविपरीत रहेको पुष्टि गरेको बताए ।
सुनकोशी–मरिण डाइभर्सन आयोजना र सञ्चारगृहमा प्रवेश गरी पत्रकार पक्राउ गर्नेसम्मका घटनाले सरकारको स्वेच्छाचारी चरित्र देखाएको पौडेलको आरोप थियो । यस्तै अवस्था जारी रहे कांग्रेस चुप लागेर नबस्ने भन्दै उनले दुर्गानन्द झा जन्मिन सक्ने चेतावनीसमेत दिए ।
सरकार दुई तिहाइको दम्भमा अघि बढिरहेको र त्यसका कारण मुलुकमा अराजकता बढ्नुका साथै अन्य दललाई कमजोर बनाउने तथा तिनमा हस्तक्षेप गर्ने प्रयास भइरहेको उनले आरोप लगाए । कांग्रेसलाई नियोजित रूपमा आरोप लगाएर कमजोर बनाउने प्रयासले पार्टी कमजोर नहुने, बरु थप सशक्त भएर अघि बढ्ने उनको भनाइ थियो ।
पौडेलले सरकारले स्थानीय तहको निर्वाचन नगराउने अवस्था सिर्जना गरिरहेको आरोप पनि लगाए । संविधानअनुसार स्थानीय तहको निर्वाचन मिति कार्यकाल सकिनुभन्दा कम्तीमा छ महिनाअघि घोषणा हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले सरकारको गतिविधि हेर्दा निर्वाचन गराउनेतर्फ ध्यान गएको नदेखिएको बताए । सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजेको उनको आरोप थियो ।
मधेश प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस सभापति गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको विषयमा पनि पौडेलले प्रतिक्रिया दिए । उक्त भेटलाई अन्य राजनीतिक अर्थ लगाउन नहुने उनको भनाइ थियो ।
कांग्रेस मधेश प्रदेश सरकारको नेतृत्व आफ्नै पार्टीले निरन्तरता पाओस् भन्ने पक्षमा रहेको बताउँदै उनले त्यसका लागि कुनै पनि अनैतिक गठबन्धन नगर्ने स्पष्ट पारे ।

























