
काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार स्वदेश फर्किएका छन् । उनी टर्कीको अन्ताल्यामा आयोजित सम्मेलनमा सहभागी भएर फर्किएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा नेपालले हिमाल र जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण, जलवायु न्याय, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा अनुकूलन र हानि–नोक्सानीका लागि वित्तीय सहयोगका विषयलाई प्राथमिकताका साथ उठाएको थियो । बहुप्रकोपीय पूर्वसूचना प्रणाली सुदृढीकरणमा पनि नेपालले जोड दिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले कोप प्रक्रियामा पर्वतीय मुलुकका एजेन्डा स्थापित गराउन सक्रिय प्रयास गरेको बताए । ‘नेपालका तर्फबाट पर्वतीय मुलुकका मुद्दा स्थापित गराउन विभिन्न तहमा छलफल भएको छ । यस वर्षको सम्मेलनले कुनै न कुनै रूपमा हाम्रा एजेन्डालाई सम्बोधन गर्नेमा हामी पूर्ण आशावादी छौँ’, उनले भने ।
सम्मेलनका क्रममा मन्त्री खनालले ‘पर्वत तथा जलवायु परिवर्तन’ सम्बन्धी छुट्टै कार्य कार्यक्रम स्थापना गर्न र जलवायु वित्त लक्ष्यमा पर्वतीय क्षेत्रका विशिष्ट सूचक समावेश गर्न माग गरेका थिए । नेपालले भुटान, किर्गिस्तान तथा अन्तर्राष्ट्रिय साझेदार संस्था इसिमोड र जोइ इन्भाइरोमेन्ट नेटवर्कसँगको सहकार्यमा पर्वतीय उत्थानशीलताका लागि अनुकूलन वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रमसमेत आयोजना गरेको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार कोप-३१ को बाँकी अवधिमा हुने बैठक तथा वार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् ।

























