
काठमाडौं । नवप्रवर्तन, प्रविधि र औद्योगिक विकासका क्षेत्रमा चीनले हासिल गरेको उपलब्धिबारे अध्ययन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० सांसद चीन प्रस्थान गरेका छन् ।
पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल आइतबार चीन प्रस्थान गरेको हो । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा गएको टोलीले ११ दिनसम्म चीनका विभिन्न सहरको भ्रमण गर्ने कार्यक्रम छ ।
प्रतिनिधिमण्डलले बेइजिङ, हाङचोउ र सिचुवानलगायत क्षेत्रको भ्रमण गर्नेछ । भ्रमणका क्रममा चीनले प्रविधि, कृत्रिम बुद्धिमत्ता, औद्योगिक उत्पादन, सार्वजनिक सेवा प्रवाह र उद्यमशीलताको क्षेत्रमा अपनाएका नीति तथा अभ्यासबारे जानकारी लिने टोलीको तयारी छ ।
भ्रमण टोलीमा महामन्त्री आचार्यसँगै सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी सहभागी छन् । त्यसैगरी सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा टोलीमा छन् ।
रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागका प्रमुखसमेत रहेका सांसद आनन्दबहादुर चन्दले चीनको प्रविधिगत विकासलाई नेपालको आवश्यकता र क्षमतासँग जोडेर अध्ययन गर्ने लक्ष्य रहेको बताएका छन् । उनका अनुसार कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, डिजिटल प्रविधि र औद्योगिक विकासका क्षेत्रमा चीनले हासिल गरेका उपलब्धि, अवलम्बन गरेका नीति तथा संस्थागत अभ्यासबारे टोलीले जानकारी लिनेछ ।
ती अनुभवलाई कृषि आधुनिकीकरण, स्वास्थ्य, शिक्षा, सार्वजनिक सेवा, औद्योगिक उत्पादन र उद्यमशीलताको विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुने उनले बताएका छन् ।
त्यस्तै, सांसद धनञ्जय रेग्मीले भ्रमणले नेपाल र चीनबीच आपसी समझदारी तथा सम्बन्ध विस्तारमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार भ्रमणले आर्थिक, प्राविधिक र विकासका क्षेत्रमा दीर्घकालीन सहकार्यका सम्भावना पहिल्याउन तथा दुई देशबीच राजनीतिक सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्न सक्छ ।
चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन शाह (बालेन्द्र) र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेट गरेको थियो । विमानस्थलमा टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका थिए ।

























