
काठमाडौं । सत्ताको जिम्मेवारी सम्हालेपछि विदेश भ्रमणलाई प्राथमिकता दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैबाट नेतृत्व र मन्त्रीहरूमाथि प्रश्न उठ्न थालेको छ । विदेश भ्रमणको लहर बढ्दै जाँदा पार्टीका सांसदहरूले नै त्यसको औचित्य, राज्यकोषबाट हुने खर्च र राजनीतिक नैतिकतामाथि सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन् ।
पार्टीका सांसद गणेश कार्की, ज्वाला संग्रौला, आशिका तामाङ र राजु पाण्डेले सामाजिक सञ्जालमार्फत विदेश भ्रमणको प्रवृत्तिमाथि प्रश्न उठाएका हुन् । उनीहरूको साझा चासो विदेश भ्रमणको संख्या मात्रै नभएर त्यसका लागि खर्च भइरहेको रकम र देशले प्राप्त गर्ने उपलब्धिसमेत हो ।
सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ मा सहभागी हुन टर्किए पुगेका तथा जाने तयारीमा रहेका नेपाली प्रतिनिधिमण्डलको खर्चको स्रोत सार्वजनिक गर्न माग गरेका छन् । वातावरणको विद्यार्थी र सांसदसमेत भएकाले सम्मेलनमा जाने नेपालीको संख्या बढेको आफूले देखिरहेको उल्लेख गर्दै उनले सरकारी खर्चमा जाने वा अन्य स्रोतबाट जाने भन्ने विषय स्पष्ट हुनुपर्ने बताएका छन् ।
‘जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिक रूपमा घोषणा गरून् । गर्नै पर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
सांसद ज्वाला संग्रौलाले पनि विदेश भ्रमणका नाममा हुने सामूहिक यात्राप्रति आपत्ति जनाएकी छन् । विगतमा अरू दलका नेताहरूले गर्दा गलत ठहरिएको अभ्यास आफ्नै पार्टीका नेताहरूले गर्दा सही नहुने उनको तर्क छ । उनका अनुसार सम्बन्धित देश वा आयोजकले नै खर्च बेहोर्ने गरी विज्ञ तथा सांसदलाई निमन्त्रणा गरेको अवस्थामा भ्रमण स्वाभाविक हुन सक्छ । तर, राज्यकोषबाट रकम खर्च गरेर विदेश घुम्ने प्रवृत्ति भने जुनसुकै सरकार र दलका लागि गलत हो ।
उनले विदेश भ्रमणमा जान नपाएको कारण आफूले यस्तो टिप्पणी नगरेको स्पष्ट पार्दै जनताकै बीचमा पुग्दा बढी जिम्मेवार महसुस हुने बताएकी छन् ।
यसैगरी सांसद आशिका तामाङले संसदीय समिति तथा अन्य प्रयोजनका नाममा हुने विदेश भ्रमणको उपलब्धिमाथि प्रश्न उठाएकी छन् । सांसदहरूले कति पटक राज्यको खर्चमा विदेश भ्रमण गर्न पाउने र त्यस्ता भ्रमणबाट देशले के उपलब्धि हासिल गरिरहेको छ भन्ने विषय सार्वजनिक हुनुपर्ने उनको माग छ ।
लाखौँ रुपैयाँ खर्च गरेर गरिने भ्रमणको प्रतिफल जनताले जान्न पाउनुपर्ने भन्दै उनले भ्रमणको उपलब्धि समुद्री किनारमा फोटो खिच्ने र टिकटक बनाउने काममा मात्रै सीमित भइरहेको त होइन भन्ने प्रश्नसमेत उठाएकी छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)निकट सांसद राजु पाण्डेले पनि जिम्मेवारी र पद प्राप्त गरेपछि विदेश भ्रमणलाई प्राथमिकता दिने राजनीतिक प्रवृत्तिमाथि व्यंग्य गरेका छन् । ‘जिम्मेवारी र कुर्सीमा पुगेपछि प्राथमिकता त विदेश जाने नै हुँदो रहेछ । अचम्म ! लाज पनि लजायो कि ! कुरीकुरी । जय मातृभूमि नेपाल,’ उनले लेखेका छन् ।
रास्वपाका सांसदहरूबाटै सार्वजनिक भएका यी टिप्पणी त्यतिबेला आएका छन्, जतिबेला पार्टीका २० जना नेता तथा सांसद चीन भ्रमणमा गएका छन् । अर्कोतर्फ कोप–३१ मा सहभागी हुन नेपालका पाँच मन्त्री टर्की पुगिसकेका छन् ।
विदेश भ्रमणको विषयमा आफ्नै पार्टीका सांसदहरूबाट प्रश्न उठेपछि रास्वपाभित्र भ्रमणको औचित्य र खर्चको पारदर्शिताबारे बहस चर्किएको छ । सरकार र राजनीतिक दलहरूले विगतमा उठाउँदै आएको मितव्ययिता, सुशासन र जवाफदेहिताको प्रतिबद्धता व्यवहारमै कति लागू भइरहेको छ भन्ने प्रश्नसमेत यसले उठाएको छ ।



















