फाइल तस्बिरकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा लिग चरणका खेल सकिएसँगै उपाधि दौडमा चार टोली बाँकी रहेका छन् । लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेका लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका हुन् ।
लिग चरणपछि आज (सोमबार) प्रतियोगितामा विश्राम दिइएको छ । अब भोलि मंगलबारदेखि प्लेअफका खेल सुरु हुनेछन् । पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल जित्ने टोलीले सोझै फाइनलमा स्थान बनाउनेछ ।
त्यस्तै, इलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज आमनेसामने हुनेछन् । पर्सि बुधबार हुने यस खेलमा पराजित हुने टोलीको उपाधि यात्रा समाप्त हुनेछ भने विजेता टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ ।
पहिलो क्वालिफायरमा पराजित हुने टोलीले पनि फाइनल पुग्ने अर्को अवसर पाउनेछ । उसले इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । बिहीबार हुने दोस्रो क्वालिफायरको विजेताले फाइनलमा पहिलो क्वालिफायर विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको फाइनल मंसिर ५ गते हुनेछ । अब चार टोलीको लक्ष्य एउटै छ– प्लेअफका चुनौती पार गर्दै एनपीएलको उपाधि उचाल्ने ।



















