
विराटनगर । चोरी गर्ने उद्देश्यले घरभित्र पसेका दुई जनालाई प्रहरीले विराटनगरबाट रंगेहात पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–८ हरिहर चोकस्थित विष्णु श्रेष्ठको घरमा चोरी गर्न पसेका उनीहरू सोमबार बिहान पक्राउ परेका हुन् । प्रहरीका अनुसार बिहान करिब ३ः३० बजेतिर घरमा चोरी गर्न मानिस पसेको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय हाटखोलाबाट असई भीमबहादुर खड्काको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।
प्रहरी टोलीले चोरी गर्न उद्देश्यले छिरेका दुवै जनालाई घरभित्रैबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको दमक घर भई हाल विराटनगर–८ मा डेरा गरी बस्ने ५९ वर्षीय मोती मियाँ र भारत घर भई सोही स्थानमा डेरा गरी बस्ने ५८ वर्षीय बिन्देश्वर दास रहेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाइएको जानकारी कटवालले दिए ।

























