विराटनगर । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थलबाट सोमबार बिहान काठमाडौंका लागि हुने सबै उडान रद्द भएका छन् । उडान रद्द भएपछि सयौँ यात्रु प्रभावित भएका छन् भने अपराह्न र साँझका उडान हुने–नहुने अन्योल कायम छ ।
विराटनगर विमानस्थलका सूचना अधिकारी प्रकाश भण्डारीका अनुसार मौसम अनुकूल नभएपछि बिहानका सबै उडान स्थगित गर्नुपरेको हो । बुद्ध एयरका तीन, यती एयरलाइन्सका दुई र श्री एयरलाइन्सका दुई गरी सातवटा उडान रद्द भएका छन् ।
पछिल्लो तीन–चार दिनदेखि हवाई यात्रुको चाप अत्यधिक रहेकाले सबै एयरलाइन्सका उडानमा सिट भरिभराउ थिए । मौसममा सुधार आए बाँकी उडान सञ्चालन गरिने र प्रतिकूलता कायम रहे थप उडानसमेत रद्द हुन सक्ने भण्डारीले बताए ।
यो समाचार तयार पार्दासम्म बाँकी उडान सञ्चालन हुने निश्चित भइसकेको छैन । मौसममा केही सुधार आए साँझ ६ बजेपछि विमानस्थलको बत्तीको सहायताले उडान सञ्चालन गर्न सकिने सम्भावनालाई ध्यानमा राखेर एयरलाइन्सहरूले तयारी गरिरहेका थिए ।
बिहानका उडान रद्द भएपछि विमानस्थल पुगेका यात्रुहरू आ–आफ्नो गन्तव्य वा निवास फर्किएका छन् । दिउँसो र साँझका लागि टिकट लिएका यात्रु भने मौसम खुल्ने र उडान सञ्चालन हुने प्रतीक्षामा छन् ।
























