
इलाम । चिया पर्यटनको प्रवर्द्धन र निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा शनिबार (आज) देखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव २०८३’ सुरु हुँदैछ।
सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा आयोजना हुने महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा (लिम्बू) ले गर्ने कार्यक्रम छ।
महोत्सवमार्फत आन्तरिक तथा बाह्य गरी १० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ। सूर्योदय चिया महोत्सव व्यवस्थापन समिति संयोजक एवं वडा नम्बर १० का अध्यक्ष पेमा उगेन लामाका अनुसार चिया पर्यटनलाई नयाँ गन्तव्यका रूपमा विकास गर्ने र निर्माणाधीन चिया पदमार्गलाई पर्यटकमाझ चिनाउने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गरिएको हो।
आइतबारसम्म सञ्चालन हुने महोत्सवमा चिया पर्यटनसँग सम्बन्धित विविध गतिविधि समावेश गरिएका छन्। महोत्सवमा ‘टी ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी पदयात्रा, स्थानीय खानाका परिकारको प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ।
त्यस्तै, सूर्योदय नगरपालिका क्षेत्रमा उत्पादित विभिन्न ब्रान्डका चियाको प्रदर्शनी, स्वाद परीक्षण तथा बजारीकरणका लागि छुट्टाछुट्टै स्टल राखिने आयोजकले जनाएको छ।
महोत्सवको आकर्षणका रूपमा महिला र पुरुषतर्फ छुट्टाछुट्टै टी ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछ। पुरुषतर्फ १२ दशमलव ५ किलोमिटर र महिलातर्फ ९ किलोमिटर दूरीको दौड हुनेछ। पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। महिलातर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनामार्फत कन्यामको वडा नम्बर ७ देखि श्रीअन्तुको वडा नम्बर ५ सम्म २५ दशमलव ५ किलोमिटर लामो चिया पदमार्ग निर्माण भइरहेको छ। सोही पदमार्गलाई पर्यटनको नयाँ आकर्षणका रूपमा स्थापित गर्न महोत्सव आयोजना गरिएको हो।
महोत्सव सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। हरियाली चियाबारी, प्राकृतिक सौन्दर्य र मनोरम दृश्यका कारण चर्चित कन्याममा दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन्। मेची राजमार्गसँग जोडिएको कन्याम झापाको चारआलीबाट करिब एक घण्टाको यात्रामा पुग्न सकिन्छ।

























