अवैध रूपमा नेपाल प्रवेश गर्ने विदेशीको निगरानी बढाउन निर्देशन

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ५, शनिबार ०८:२४

विराटनगर । नेपालमा अवैध रूपमा प्रवेश गर्ने विदेशी नागरिकको गतिविधिमाथि निगरानी बढाउन र अन्तर्राष्ट्रिय सीमा नाकामा चेकजाँच कडा गर्न नेपाल प्रहरी प्रधान कार्यालयले मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयमा हेलो सरकारमार्फत प्राप्त उजुरीपछि प्रहरी प्रधान कार्यालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयको गुनासो व्यवस्थापन तथा कल सेन्टर शाखामा प्राप्त उजुरी आवश्यक कारबाहीका लागि मंसिर २ गते प्रहरी प्रधान कार्यालय पठाइएको थियो ।

त्यसपछि प्रधान कार्यालयले मंसिर ३ गते काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा सातै प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको हो । प्रधान कार्यालयको पत्रमा स्थानीय प्रशासन तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी अन्तर्राष्ट्रिय सीमा नाकामा कडाइका साथ चेकजाँच गर्न भनिएको छ ।

गैरकानुनी प्रवेश पूर्णतः रोक्न, अवैध रूपमा प्रवेश गरेको आशंका गरिएका समूह कुन–कुन स्थानमा कति संख्यामा बसोबास गरिरहेका छन् भन्ने विवरण संकलन गर्न र उनीहरूका गतिविधिमाथि सूक्ष्म निगरानी गर्न निर्देशन दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए । त्यस्ता गतिविधिमा संलग्न रहेको पुष्टि भएमा प्रचलित कानुनबमोजिम कारबाही गर्नसमेत भनिएको जानकारी उनले दिए ।

सम्बन्धित कार्यालयलाई आफूले गरेको कारबाही र प्रगति विवरण यथाशीघ्र पठाउन पनि निर्देशन दिइएको छ । हेलो सरकारमा प्राप्त उजुरीमा रोहिङ्ग्या, बंगलादेशी, पाकिस्तानी, भारतीय र सोमालियाली नागरिक अवैध रूपमा नेपाल प्रवेश गरिरहेको दाबी गर्दै उनीहरूलाई देश निकाला गर्न तथा नागरिकताको छानबिन कडा बनाउन माग गरिएको छ ।

उजुरीकर्ताले विदेशी नागरिकको अवैध प्रवेशले नेपालको राष्ट्रिय पहिचान, धर्म र संस्कृतिमा असर पर्ने आशंकासमेत व्यक्त गरेका छन् । यद्यपि, उजुरीमा उल्लेख गरिएका विदेशी नागरिकको अवैध प्रवेश, संख्या तथा गतिविधिका बारेमा यकिन छैन । तर, प्रहरी प्रधान कार्यालयले उजुरीमाथि आवश्यक छानबिन र कारबाही गरी प्रगति विवरण पेस गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.