उदयपुरमा किशोरीमाथि बलात्कारको आरोपमा १९ वर्षीय युवक पक्राउ

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ५, शनिबार ०८:५३
उदयपुरमा बोल्न नसक्ने किशोरीमाथि बलात्कारको आरोपमा १९ वर्षीय युवक पक्राउ

विराटनगर । उदयपुरमा बोल्न नसक्ने अपांगता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतामाई गाउँपालिका–६ रातमाटेका सोमबहादुर तामाङ रहेका छन्। किशोरीमाथि पाँच दिनअघि जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका तामाङलाई प्रहरीले खोजी गरी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार गत कात्तिक ३० गते छठ पूजाका दिन दिउँसो करिब ३ बजे खेतबाट कोदो बोकेर घर फर्किँदै गरेकी किशोरीमाथि बाटोमा जबरजस्ती करणी भएको प्रारम्भिक उजुरीमा उल्लेख छ। उकालो बाटोमा किशोरीलाई घिसारेर नजिकैको झाडीमा लगेको र त्यहीँ जबरजस्ती करणी गरेको आरोप छ।

घटनाका बेला किशोरीकी आमा पनि सँगै रहेकी थिइन्। तर, उनी बाटोमा पछाडि परेकाले छोरी झाडीबाट रुँदै निस्किएपछि मात्रै घटनाबारे जानकारी पाएको बताइएको छ। प्रारम्भमा घटनाबारे स्पष्ट जानकारी हुन नसके पनि सोधपुछका क्रममा भोलिपल्ट किशोरीमाथि जबरजस्ती करणी भएको खुलेको थियो।

घटनापछि फरार रहेका तामाङविरुद्ध पीडितका परिवार तथा आफन्तले मंसिर २ गते अस्थायी प्रहरी पोस्ट रौतापोखरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा खोजीमा खटिएको प्रहरीले उनलाई पक्राउ गरी सदरमुकाम गाईघाट ल्याएको हो।

प्रहरीका अनुसार पक्राउ परेका तामाङलाई जिल्ला अदालतबाट शुक्रबार म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.