
काठमाडौं । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले मंगलबार पाकिस्तान ‘ए’ विरुद्ध खेल्दैछ ।
नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल अपराह्न ३ः४५ बजे दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ ।
नेपालले पहिलो खेलमा भारतसँग ३०६ रनको फराकिलो हार व्यहोरे पनि दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ६ विकेटको जित निकालेको थियो । नेपाल आज पनि सानदार प्रदर्शन गर्दै पाकिस्तानलाई हराउने योजनामा छ ।
उता, एक खेलअगावै सेमिफाइनलमा स्थान पक्का गरिसकेको पाकिस्तान लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ । उसले पहिलो खेलमा युएई र दोस्रो खेलमा भारत ‘ए’ लाई हराएको थियो ।
इमर्जिङ कपमा हालसम्म नेपाल र पाकिस्तान ‘ए’ बीच एकपटक मात्र भेट भएको छ । सन् २०२३ को संस्करणमा नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित भएको थियो । त्यस खेलमा पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९ रनमा अलआउट भएको थियो ।
नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले ३२ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । नेपालसँग आज तीन वर्षअघिको हारको बदला लिने अवसर छ ।
जारी प्रतियोगितामा नेपाल २ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । समूह ‘बी’ मै रहेको पाकिस्तान ४ अङ्कसहित शीर्ष स्थानमा छ ।

























