मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न पाँच पालिकाको ५५ लाख

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १२, शनिबार ०६:५१

भोजपुर । भोजपुरका पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन आयोजना गर्ने तयारी गरेका छन् ।

ग्रेटर मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै साहसिक पर्यटनको आकर्षक गन्तव्य बनाउने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन आयोजना गर्न लागेका हुन् । प्रतियोगिता सञ्चालन र पदमार्गको प्रवर्द्धनका लागि पाँच पालिकाले ५५ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेका छन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ, आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले संयुक्त पहलमा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेका हुन्।

विनियोजित बजेटमध्ये भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकाले २०–२० लाख रुपैयाँ तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले पाँच–पाँच लाख रुपैयाँ छुट्याएका छन्। प्रतियोगिताको सञ्चालन प्रक्रिया र थप निर्णय आगामी मंसिर २५ गते बस्ने बैठकबाट टुंगो लगाइने रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए।

टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार पाँच स्थानीय तहको सहकार्यमा आयोजना हुने प्रतियोगिताले मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुग्नेछ।

अल्ट्रा म्याराथनमार्फत पदमार्गको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र स्थानीय जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखिएको छ। यसबाट स्थानीय उत्पादनको बजारीकरण, होटेल तथा घर बास (होमस्टे) विस्तार र रोजगारी सिर्जनामा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.