
विराटनगर । क्रिकेट ओडिआई वरियतामा नेपालले १ स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको पछिल्लो वरियताक्रममा नेपाल १६औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७ औं स्थानमा थियो । क्यानडा वरियतामा २ स्थान तल झरेर १८ औं स्थानमा पुगेको छ ।
क्यानडाले यूएईमा केही महिना अघि भएको लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा शतप्रतिशत नतिजा निकाल्दै नेपाललाई वरियतामा पछि पारेको थियो ।
नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक सिरिजको चारै खेलमा पराजित भएपछि क्यानडाको वरियता खस्किएको हो । क्यानडा १८औं स्थानमा छ ।
एसोसिएट तर्फको शीर्ष स्थानमा स्कटल्यान्ड रहेको छ । नेपाल चौथो स्थानमा छ । नेपाल भन्दा माथि एसोसिएट राष्ट्रमा स्कटल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् ।
ओडिआई वरियताको शीर्ष स्थानमा भारत, दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका छन् ।



















