
काठमाडौं। पल्सर स्पोर्ट्स अवार्ड २०८०को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै यस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।
आगामी भदौ २८ गते हुने अवार्डका लागि क्रिकेटका गुल्सन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमति बिष्ट, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठ पिपल्स च्वाइसको मनोनयनमा परेका हुन् ।
पिपल्स च्वाइसको विजेता चयन खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थककाे भोटिङबाट हुनेछ । ५० प्रतिशत मतभार रहने ईसेवाको भोटिङ शुक्रबारदेखि नै सुरु भैसकेको छ ।
शुक्रबार नै मनोनयन सार्वजनिक हुनुअघि मञ्च र भोटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी ई–सेवासँग सम्झौता नवीकरण भएको थियो । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र ई–सेवाका प्रमुख बजार व्यवस्थापक आशिष गौतमबीच सम्झौता भएको हो ।
कमलादास्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने पल्सर स्पोर्ट्स अवार्ड २०८० मा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा अवार्ड प्रदान गरिनेछ ।
यस पटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेतालाई पाँच थान बजाज पल्सर मोटरसाइकल प्रदान गरिँदैछ । पिपल्स च्वाइस अवार्डका विजेताले पल्सरको एनएस ४०० सिरिज प्राप्त गर्नेछन् । अन्य चार विधाका विजेताले एनएस २०० पाउनेछन् । अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ ।



















