कोशी अस्पतालमा क्यान्सर रोगको सेवा विस्तार

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र १३, बिहीबार १७:१७

विराटनगर । विराटनगरको कोशी अस्पतालमा क्यान्सर रोगको थप सेवा विस्तार गरिएको छ । सेवा विस्तारका लागि भक्तपुरको क्यान्सर अस्पतालसँग सम्झौता भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलको उपस्थितिमा भक्तपुर क्यान्सर अस्पातलका निर्देशक उज्जवल चालिसे र कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविनराज सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । जसमा भक्तपुर क्यान्सर अस्पतालले नियम अनुसार यातायात, खाजा लगायत खर्चको लागि आवश्यक बजेटको व्यवस्था गर्ने उल्लेख छ ।

भक्तपुर क्यान्सर अस्पतालले सेवा सञ्चालन गर्दा आवश्यक जनशक्तिको व्यवस्था आफ्नो संस्थाको नियमित सेवा प्रभावित नहुने गरी मिलाउने सम्झौता पत्रमा उल्लेख छ । महिनाको कम्तिमा एकपटक सेवा सञ्चालन गर्नुपर्ने र विस्तारित सेवामा बहिरंग अन्तरंग एवं उपचारसमेत समेटेर सेवा गर्नुपर्ने उल्लेख छ ।

कोशी अस्पतालले क्यान्सर रोगको विस्तारित सेवा सञ्चालन गर्न आवश्यक वातावरण निर्माण गर्ने, सेवाग्राहीलाई विस्तारित सेवा बारे सूचना, कार्यतालिका र सेवा विवरण बारे जानकारी गराउने सम्झौता पत्रमा उल्लेख छ । सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै कोशी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टर रगिन कठेतले २०७२ साल कात्तिकदेखि सुरु गरिएको क्यान्सर रोगको सेवा विस्तार गरेर अहिले दैनिक ओपीडी सेवा, इन्डोर सेवा, डे–केयर केमोथेरापीसहितको ५ बेड सञ्चालनमा रहेको बताए ।

अस्पतालमा ब्रेस्टको सर्जरी, पेट तथा आन्द्राको सर्जरी, मृगौला तथा प्रोस्टेटको सर्जरी, छालाको क्यान्सर सर्जरी सञ्चालनमा छन् । उनले १० वर्षदेखि क्यान्सर रोगको सेवा सुरु गरेपनि अहिले विशेषज्ञ क्यान्सर सेवाको अभाव रहेको बताए ।

क्यान्सरका बिरामीले अबदेखि भरतपुर र काठमाडौं जानुपर्ने बाध्यता हट्ने भएपनि सरकारले क्यान्सर रोग पीडितलाई दिने भनेको रकम नदिएको डा. कठेतको भनाइ छ । कोशी प्रदेश सरकारले क्यान्सरका १ जना बिरामीलाई १ लाख रुपैयाँका दरले रकम दिँदै आएको थियो ।

‘२०८० साल फागुनसम्ममा ४ हजार बिरामीले ४० करोड रुपैयाँ पाउन सकेका छैनन्,’ डा. कठेतले भने, ‘फागुन पछाडि त सरकारले फारम नै लिन बन्द गरेकाले समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालयको ध्यान आकर्षण गराउँछु ।’ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेढ महिनाको अवधिमा बिमालाई प्रभावकारी बनाएर एकद्धार प्रणालीबाट काम गर्ने गरी सरकार अघि बढिरहेको स्पष्ट पारेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×