एन्फा महिला लिगको उद्घाटनमा कोशी र वालिङ भिड्दै

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १६, आइतबार १०:५५

काठमाडौं । एन्फा महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आज (आइतबार) कोशी प्रदेश र स्याङ्जाको वालिङ नगरपालिका भिड्दै छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुने प्रतियोगिताको पहिलो खेलमा कोशी र वालिङ आमनेसामने हुने भएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजनना गरेको लिगमा कूल १० टिमको सहभागिता रहनेछ ।

विभागीय टोली एपीएफ एफसी, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा कोशी प्रदेश, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा एफसी एवं बागमती युथ क्लबले लिगमा सहभागिता जनाउने छन् । उद्घाटन खेल दर्शकले निःशुल्क हेर्न पाउने छन् ।

लिगको पहिलो चरणमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुने र त्यसपछि शीर्ष ५ टोली अर्को चरणमा प्रवेश गर्ने बताइएको छ । ५ टोलीले बल राउण्ड रोविनका आधारमा सुपर लिग खेल्नेछन् ।

२० खेल हुने सुपर लिगपछि शीर्ष ४ टोलीबीच क्वालिफायर, इलिमिनेटर र फाइनल खेल हुनेछ । लिगमा जम्मा ६९ खेल हुने जनाइएको छ । लिगमा पुरस्कारबापत च्याम्पियनले १० लाख र दोस्रो हुनेले ५ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले १–१ लाख एवं उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले ५०–५० हजार पाउने छन् । हरेक खेलका प्लेयर अफ दी म्याचलाई ५ हजार रुपैयाँ दिइने छ ।

एन्फाका अनुसार लिग सम्पन्न गर्न २ करोड २४ लाख ६८ हजार ६ सय ९८ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.