
विराटनगर । विराटनगरमा प्रथम बीपी कोइराला स्मृति अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ ।
खेलकुद तथा युवा विभाग नेपाली काँग्रेस मोरङले बिपी कोइरालाको स्मृतिमा विद्यालय स्तरको प्रतियोगिता आयोजना गर्न लागेको हो ।
विभागका संयोजक प्रकाश दाहालका अनुसार प्रतियोगिता भदौ २७ र २८ गते दुई दिनसम्म विराटनगरस्थित सहिद रंगशाला छेउमा रहेको कर्भड हलमा हुनेछ ।
बिपीको स्मृति दिवसका अवसरमा प्रतियोगिता प्रत्येक वर्ष आयोजना हुनेछ । प्रतियोगितामा विराटनगरका निजी तथा सामुदायिकका २० वटा विद्यालयका विद्यार्थीले ६ वटा इभेन्ट्समा भाग लिएका छन् ।
जसमा उमेर समूहअन्तर्गत कक्षा– ४, ५ र ६, कक्षा– ७ र ८ र कक्षा– ९ र १० का छात्र÷छात्राबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका प्रथमले नगद २ हजार ५ सय, दोस्रोले १ हजार ५ सय र तेस्रो हुने २ जनालाई जनही १–१ हजार रुपैयाँका साथै मेडल, ट्रफी प्राप्त गर्ने छन् ।



















