
काठमाडौं । काठमाडौ जिल्ला तेक्वान्दो संघले पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधबार नगदसहित सम्मान गरेको छ ।
पलेशालाई १ लाख ३८ हजार नगदसहित प्रशंसापत्रबाट सम्मान गरिएको हो ।
प्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार तथा पेरिस पारालिम्पिकमै सहभागी तेक्वान्दो खेलाडी भरतसिंह महतालाई १० हजार नगदसहित प्रशंसापत्र प्रदान गरियो ।
व्यवस्थापक रामचन्द्र श्रेष्ठ प्रशंसापत्रबाट सम्मानित भए । पलेशाका पिता प्रदीपलाई मायाको चिनो प्रदान गरिएको थियो ।
बनस्थलीस्थित सिद्धार्थ बनस्थली इन्टिच्युतमा भएको कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका सदस्य एवं च्याम्बरअन्तर्गत शिक्षा तथा खेलकुद उपसमितिका अध्यक्ष रुपकराज बन्सी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले सम्मान गरे ।
सोही अवसरमा सिद्धार्थ बनस्थली इन्टिच्युतले पनि पलेशालाई छुट्टै नगदसहित सम्मान गरेको थियो । प्रिन्सिपल बन्सीले पलेशालाई ५० हजार नगदसहित सम्मान गरे ।
बुधबारै काठमाडौं महानगरपालिका वडा ८ ले पनि पलेशा र प्रशिक्षक लामालाई नगदसहित सम्मान गर्यो । वडाध्यक्ष आसामान संगतले दुवैलाई जनही ५१ हजार प्रदान गरी सम्मान गरे ।



















