एनएसए कप पौडी प्रतियोगिता हुने

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ३, बिहीबार १२:११

काठमाडौं । काठमाडौंमा १२ औं एनएसए कप खुला पौडी प्रतियोगिता हुने भएको छ ।

नेपाल पौडी संघले असोज १३ र १४ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा प्रतियोगिता गर्न लागेको हो ।

यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारी बेला बाहेक) हुँदै आएको छ । संघले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशबाट कूल ३ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । खुला (महिला/पुरुष) र विभिन्न उमेर समूह (महिला/पुरुष) गरी कूल ७२ स्पर्धामा प्रतिस्पर्धा हुनेछन् ।

संघले यस प्रतियोगिताबाट नेपाली पौडी खेलाडीको वृत्ति विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अगाडि आफूलाई प्रमाणित गर्ने अवसरसमेत रहेको विश्वास लिएको छ ।

यस प्रतियोगितामार्फत नयाँ प्रतिभाको प्रस्फुटन, उत्कृष्ट खेलाडीको मनोबल र उमेरसमूहमा पौडी खेलको पहुँचलगायत अपेक्षा गरिएको छ । उत्कृष्ट प्रदर्शनसँगै खेलाडीको नयाँ राष्ट्रिय कीर्तिमान पनि बन्ने आशा संघले लिएको छ ।

राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ स्वरुपमा पुरस्कृत गरिने भएको छ । १ सेकेन्डभन्दा कम समय भएमा ५ हजार र १ सेकेन्डदेखि ३ सेकेन्ड समय सुधार गर्ने खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

३ सेकेन्डभन्दा माथि राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले २० हजार नगद पुरस्कार प्रदान गरिने संघले उल्लेख गरेको छ ।

प्रत्येक उमेरसमूह र खुलामा सहभागी खेलाडीमध्ये उत्कृष्ट महिला र पुरुष खेलाडीले जनही ५ हजार नगद पुरस्कारको पाउने छन् ।

वर्ष उत्कृष्ट एक खेलाडीलाई विशेष पुरुस्कारबाट सम्मानित गरिने छ । नेपाल पौडी संघले आयोजना गर्ने प्रत्येक प्रतियोगितामा १ जना ओलम्पियनलाई क्रमशः नगदसहित सम्मान गर्ने सुरुआत गरिने भएको छ ।

यो प्रतियोगिताबाट हंगेरीको बुढापेस्टमा आयोजना हुने वल्र्ड एक्वेटिक्स स्विमिङ च्याम्पियनसिपमा खेल्ने नेपाली खेलाडीको छनोटसमेत गरिने संघका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.