
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)का लागि खेलाडी रजिस्ट्रेशन खुलेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार विज्ञप्ती जारी गर्दै पहिलो संस्करणको एनपिएलको अक्सनमा सहभागी हुन चाहने खेलाडीहरुलाई नाम दर्ता गर्न आह्वान गरेको हो ।

लिगको पहिलो संस्करणका लागि हुने अक्सनमा सहभागी हुन चाहने नेपाली खेलाडीका लागि खेलाडी दर्ता प्रक्रिया खुला गरिएको बताइएको छ ।
खेलाडीलाई ए, बी र सी गरी ३ श्रेणीमा विभाजन गरिने भएकोले खेलाडीले कुनै पनि श्रेणीमा नाम दर्ता गराउन सक्ने क्यानले जनाएको छ ।
खेलाडी दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ भने खेलाडीले असोज १२ गतेसम्म नाम दर्ता गराइसक्नु पर्छ । क्यानका सचिव पारस खड्काले एनपिएलको अक्सन दशैंअघि नै हुने बताएका छन् ।
नेपाली खेलाडी अक्सनबाट छनोट हुँदा विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्धन गर्न पाउने छन् । एनपिएलमा सहभागी ८ टोली र तिनका मार्की खेलाडी छनोट भइसकेका छन् ।
गोला प्रथाबाट काठमाडौंमा करण केसी, पोखरामा कुशल भुर्तेल, विराटनगरमा सन्दीप लामिछाने, चितवनमा कुशल मल्ल, लुम्बिनीमा रोहित पौडेल, जनकपुरमा आसिफ शेख, कर्णालीमा सोमपाल कामी र सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी मार्की परेका थिए ।
क्यानको आयोजनामस एनपिएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ ।



















