बेलबारी गोल्डकप असोज ११ देखि, तयारी पूरा

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ६, आइतबार १९:०४

विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गको खेल मैदानमा असोज ११ गतेदेखि ७ औं बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल हुँदैछ ।

बेलबारीमा लक्ष्मीमार्ग सिटी फुटबल क्लब (एलएक्स)ले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजनाको जानकारी दिएको हो । क्लबका अध्यक्ष विक्रम राईले गोल्डकपको ७ औं संस्करण असोज ११ देखि १९ गतेसम्म हुने र तयारी अन्तिम चरणमा पुगेको बताए ।

प्रतियोगिताको छैटौं संस्करणसम्म डाँगिहाट युथ क्लबको नामबाट आयोजना भएको थियो । यस पटकदेखि क्लबको नाम परिवर्तन गर्दै प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष राईले बताए ।

एकै ठाउँमा एउटै नामका २ वटा संस्था डाँगिहाट युथ क्लब र डाँगिहाट फुटबल क्लब हुँदा समस्या पर्न थालेपछि नाम परिवर्तन गर्नुपर्छ भन्ने सबै पक्षबाट कुरा आएपछि नाम परिवर्तन गरेका हौ, अध्यक्ष राईले भने ।

क्लबको नाम परिवर्तनसँगै कपलाई पनि परिमार्जित गर्दै रनिङ शिल्ड बनायौं । तीन पटक उपाधि जित्नेले यो कप लैजान पाउने बताउँदै, अध्यक्ष राईले भने, ‘प्रतियोगिताबाट मुनाफा भएको रुपैयाँ यस क्षेत्रका साना बालबालिकामा खर्च हुन्छ । क्लबले १३ वर्षमूनिका बालबालिकालाई एकेडेमी बनाएर प्रशिक्षणको व्यवस्था मिलाइने छ । रनिङ शिल्ड बनाउनका लागि स्थानीय पोपिराज राई र ज्योतीराज राईले आफ्ना बुवाको नाम एनबी रुङ्माहाङको नाममा सौजन्य गरे क्लबलाई ठूलो सहयोग गरे ।’

गोल्डकपमा २ तोला सुन र २ किलो ५ सय ग्राम चाँदी प्रयोग भएको छ ।

गत वर्ष ८ टोलीको सहभागिता रहे पनि यस पटक आयोजकसहित १० टोलीको सहभागिता छ ।

आयोजक, डिफेन्डिङ च्याम्पियन काठमाडौंको बिग्रेड ब्वाइज क्लब, विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौंको चित्लाङ फुटबल क्लब, बुटबल लुम्बिनी फुटबल क्लब, झापा ११ फुटबल क्लब, सिरहाको सलहेश युवा क्लब, भोजपुर जिल्ला फुटबल संघ, धनकुटाको रारा फुटबल क्लब र भारत पश्चिमबंगालको दलसिंहपारा स्पोर्टस एकेडेमीको सहभागिता छ ।

प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले नगद ४ लाखका साथ शिल्ड प्राप्त गर्ने छन् ।

प्रतियोगितामा म्यान अफ दि म्याच, सर्वाेत्कृष्ट खेलाडी, सर्वाेत्कृष्ट गोलरक्षक, सर्वाेत्कृष्ट डिफेन्डर, सर्वाेत्कृष्ट मिड फिल्डर, सर्वाधिक गोलकर्ता, उदयिमान खेलाडी र सर्वाेत्कृष्ट प्रशिक्षक पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिता आयोजना गर्नका लागि करिब ६० लाख खर्च हुनेछ भने कबिर ५५ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.