
विराटनगर । नेपालमा चालु आर्थिक वर्ष पहिलो दुई महिनामा २ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन–भदौमा सो मुद्रा भित्रिएको हो ।
भदौमा १ खर्ब २७ अर्ब, साउनमा १ सय ३६ अर्ब भित्रिएको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार भदौसम्मको रेमिट्यान्स आप्रवाह अघिल्लो आवको यसै महिनाको तुलनामा १८.७ प्रतिशतले बढी हो ।
सोही अवधिमा ७६ हजार ४ सय ८५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । ४० हजार ५ सय ८३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
राष्ट्र बैंकका अनुसार दुई महिनामै विदेशी विनियम सञ्चिति १ खर्बभन्दा बढीले वृद्धि भएर साढे २१ खर्ब पुगेको छ ।
गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड थियो । भदौ मसान्तमा ५.५ प्रतिशतले बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

























