बार अध्यक्ष घिमिरेकाठमाडौं । नेपाल बार एसोसिएनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले बिहीबार कारण देखाउ आदेश जारी गरेको छ ।
न्याय परिषद्ले गरेका निर्णयविरुद्ध अभिव्यक्ति दिएपछि सर्वोच्च प्रशासनले घिमिरेविरुद्ध अदालतलको अवहेलना मुद्दा दर्ता गरेको थियो । मुद्दामा बिहीबार नै सुनुवाइ भएको थियो । मुद्दाको सुनुवाइ सकिएपछि रिट खारेज नगरेर जीवित राख्दै न्यायाधीश कुमार रेग्मी र डा. कुमार चुँडालको संयुक्त इजलासले कारण देखाउन आदेश जारी गरेको हो ।
न्याय परिषद्को असोज ११ गतेको बैठकले नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ‘लेनदेन’का आधारमा न्यायाधीश सिफारिस गरेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले सर्वोच्चमा प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिवेदकले फेसबुकमार्फत निवेदन फिर्ता लिने घोषणासमेत गरेका थिए । तर, आधिकारिक रूपमा फिर्ता नलिएको हुँदा सर्वोच्चमा पेसी चढेर मुद्दाको सुनुवाइ भइ कारण देखाउ आदेश जारी भएको हो । उक्त आदेश जारी भएपछि नेपाल बारका अध्यक्ष घिमिरेलाई अदालतबाट म्याद जारी हुने छ ।
आफूविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी भएसँगै उनले कानुन व्यवसायीमार्फत वा आफै सर्वोच्च अदालतमा उपस्थित भएर आफ्नो प्रतिरक्षा गर्नुपर्ने छ । बार अध्यक्ष घिमिरेले भने न्यायपालिकामा हुने विकृति, विसंगति, भ्रष्टाचार र अनियमिताका विरुद्धमा बोल्दा आफूविरुद्ध अवहेलनाको मुद्दा लाग्छ भने त्यसलाई सजिलै ‘फेस’ गर्ने बताउँदै आएका छन् ।


























