
विराटनगर । झापा-११ फुटबल क्लब मोरङको बेलबारीमा जारी ७ औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
बेलबारी–११ लक्ष्मीमार्गमा बिहीबार भएको खेलमा झापाले बुटवल लुम्बिनी फुटबल क्लबलाई २–० गोल फरकमा पराजित गर्दै उपाधिनजिक पुगेको हो । झापाको जितमा आशिष चापागाईं नायक बन्दै निर्णायक २ गोल गरेका थिए ।
खेलको २८ औं मिनेटमा प्रदीप बुढाथोकीको पासमा आशिषले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
७५ औं मिनेटमा बुटवलका डिफेन्स एन.मेन्डी इबोसिइको डी–बक्सभित्र ‘हेन्ड’ भएपछि झापाले पेनाल्टी सुटको अवसर प्राप्त गरेको थियो । पेनाल्टीमार्फत आशिषले अग्रतालाई दोब्बर पारे ।
८९ औं मिनेटमा बुटवलले पाएको गोलको राम्रो अवसर चुकायो । एरिक विष्टले प्रहार गरेको बल पोष्टबार छुँदै बाहिरिएको थियो । खेलको म्यान अफ दी म्याच आशिषले नगद ५ हजार र ट्रफी प्राप्त गरे ।
उनलाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले पुरस्कार प्रदान गरे । एलएक्स सीटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार काठमाडौंको चित्लाङ फुटबल क्लब र सिराहाको सलहेस फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।



















