
विराटनगर । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले पाँच पटकको विजेता भारतविरुद्ध खेल्दैछ । उपाधि जित्ने दाउमा रहेको नेपालको खेल आज राति साढे ६ बजे दशरथ रंगशालामा हुनेछ ।
घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेका हुन् ।
पछिल्ला संस्करणमा नेपालले भारतलाई हराएर साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको थियो।
पछिल्ला तीन खेलमा भारतसँग नेपाल हारेको छैन । समग्रमा भने नेपालमाथि भारत हाबी छ। दुई देशबीच १७ खेल भएका छन् । जसमा भारतले ११ र नेपालले दुई खेलमा जित निकालेको छ । नेपाली टोली भारतसँग साफको फाइनलमा मात्रै चार पटक पराजित भएको थियो ।
पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ११–० र तेस्रो खेलमा श्रीलङ्कालाई ६–० ले हराएको थियो । आजै बङ्गलादेश र भुटानबिच पनि खेल हुनेछ ।



















