
काठमाडौं । पैसा नतिरेका कारण विद्युत प्राधिकरणले यसअघि लाइन काटिदिएका उद्योगहरुमा आज (सोमबार) बिजुली जोडिँदै छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सोमबार अपरान्ह १२ बजेभित्रमा लाइन जोडिसक्ने निर्णय गरेको हो ।
यसअघि पैसा नतिरेको भन्दै प्राधिकरणले कात्तिक ८ गते दुई दर्जनभन्दा बढी उद्योगको बिजुली काटेको थियो। सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङका अनुसार उद्योगमा विद्युत् आपूर्ति काटिँदा औद्योगिक उत्पादन घटेको, राजस्व गुमेको , रोजगारीमा प्रभाव परेको कारणबाट अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने भएकाले काटिएका उद्योगमा लाइन जोड्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।
सरकारले डेडिकेटेड र ट्रंक लाइन विवादमा १५ दिनभित्र टीओडी मिटरका आधारमा उद्योगीहरुसँग विवादित बक्यौता असुल गर्ने निर्णयसमेत गरेको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्षताको न्यायिक आयोगको निर्णय कार्यान्वयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्बाट भएको छ । बैठकमा डेडिकेटेड र ट्रंकलाइन विवादमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत भएको थियो ।

























