
विराटनगर । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले फागुन महिनाभित्र १० औं राष्ट्रिय खेलकुद हुने बताएका छन् ।
मोरङको बुढीगंगामा आज (मंगलबार)देखि सुरु भएको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रतिभा पहिचान कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरी फागुनमा राष्ट्रिय खेलकुद हुने बताएका हुन् ।
यही फागुनभित्रमा १० औं राष्ट्रिय खेलकुद सम्पन्न गर्ने गरी काम भइरहेको उनले भने । नेपालमा पनि व्यवसायिक खेलकुदका कार्यक्रम हुन थालेका छन् ।

जसले गर्दा खेलकुद क्षेत्रले फड्को मार्दै गएको अनुभूति हुन थालेको बताउँदै, मन्त्री चौधरीले भने, ‘पहिलेको जस्तो छैन अब । खेल खेलेर जीविकोपार्जन गर्नसक्ने वातावरण बन्दै गएको छ । सरकारले मात्रै गरेर खेलकुदको विकास हुँदैन । पछिल्लो समय उद्योगपति, व्यवसायीहरु पनि खेलकुदप्रति रुची राख्दै विभिन्न प्रतियोगिता गर्न थालेकाले पनि अब खेलाडीहरुको स्तर बढाउनु पर्छ ।’
१६ वर्षमूनिका विद्यार्थीहरुको विद्यालय स्तरीय खेलहरु यही माघमा हुँदैछ । राष्ट्रपति कप रनिङ शिल्ड वैशाखको पहिलो साता हुँदैछ । यो बाहेक अन्य खेलका कार्याक्रमहरु सरकारले चाँडै सार्वजनिक गर्ने मन्त्री चौधरीले बताए ।
विद्यालय स्तरबाट खेलाडीलाई प्रोत्साहन गर्दै लगे भविष्यमा अन्तर्राष्टिय खेलाडी हुँदै करोडौं रुपैयाँ कमाउन सक्छन् । खेलकुदलाई शारीरिक र मानसिक रुपमा मात्र होइन, खेलकुदलाई आर्थिक र पर्यटनका रुपमा लिनुपर्ने उनले बताए ।
विद्यार्थीले शिक्षा र खेलकुदलाई सँगसँगै लैजान आवश्यक रहेको बताउँदै, मन्त्री चौधरीले भने, ‘सरकारले खेलकुदको विकासलाई विशेष जोड दिएको छ । पहिले स्थानीय तहलाई खेलकुदका लागि बजेट मात्रै पठाउने गरिएको थियो । अब सरकारले स्थानीय तहमा बजेट मात्रै नभएर प्रशिक्षक पनि पठाउने प्रक्रिया सुरु गरीसकेको छ ।’
कार्यक्रममा पूर्व यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले खेलकुदको क्षेत्रमा राज्यले अपेक्षित काम गर्न नसकेको बताए ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले शिक्षासँगै खेलकुद पनि महत्वपूर्ण पक्ष रहेकोले खेलकुदको माध्यमबाट पनि नाम र दाम कमाउन सकिने बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृता गच्छदारलगायतले शुभकामना दिएका थिए ।
मंसिर १५ गतेसम्म हुने प्रतियोगितामा बुढीगंगााका सामुदायिक र संस्थागत ३५ विद्यालयका ८ सय विद्यार्थी सहभागी रहेको नरग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश केसीले जानकारी दिए ।



















