
विराटनगर । काठमाडौंमा हुन लागेका नेपाल प्रिमियर लिग (एनपीएल)विराटनगर किंग्सले जित्ने दाबी गरेको छ । टोलीमा अनुभवी खेलाडीहरु भएकाले जित्ने दाबी गरेको हो ।
विराटनगरको मेलिरेबोन ज्वाला क्रिकेट मैदानमा मंगलबार विराटनगर किंग्सले आयोजना गरेको पत्रकार सम्मेलनमा लिगमा आक्रमक खेलको प्रस्तुति दिने मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले बताएका छन् ।
उनले टोलीको ओपनिङ न्यूजिल्याण्डका मार्टिन गप्टील र लोकेश बमले गरे टोलीका लागि सुखद् हुने बताए ।
गप्टील र बमको जोडीले ओपनिङ गर्दा टोलीलाई फाइदा पुग्नेछ । यस जोडीले पावर प्लेमा राम्रो नतिजा दिन सक्ने अपेक्षा रहेको ब्रायनले भने ।
टोली आक्रमक रहेको बताउँदै मुख्य प्रशिक्षक ब्रायनले लोकेशको आक्रमक शैलीलाई गप्टीलको साथले टोलीको खेललाई बलियो बनाउने धारणा व्यक्त गरे ।
टोलीमा धेरै राम्रो ब्याटर रहेको बताउँदै उनले छोटो समयमा टोलीलाई तयार गर्नु नै उपलब्धि भएको उल्लेख गरेका छन् ।
लिगमा खेलाडीलाई स्वतन्त्र रुपमा खेल्न दिइने बताउँदै, उनले भने, ‘खेलाडीलाई स्वतन्त्र रुपमा खेल्न दिइनेछ । तर, म्याचको परिस्थिति अनुसार खेलाडीले आफूलाई ढाल्न सक्नुपर्ने हुन्छ । म्याचको परिस्थिति अनुसार ठूलो स्कोरको स्थानमा सिंगल रनले समेत महत्वपूर्ण भूमिका खेल्ने खेलाडीलाई जानकारी छ ।’
त्यसैगरी, टोलीका मार्की सन्दीप लामिछानेलाई स्कटल्याण्डको टोली गरेको व्यवहारबाट टोली प्रभावित हुन सक्छ कि भनि मुख्य प्रशिक्षक ब्रायनलाई सोधिएको थियो । सो प्रश्नमा किङ्सका अपरेसन हेड दीपेन्द्र चौधरीले जवाफ दिँदै भने, ‘यो विषय करिब १३ / १४ महिना अघिको हो । क्रिस सोलसँग यस विषयमा मैले संवाद गरिसकेको छु । उनीहरुबीच कुनै समस्या छैन । सो घटनालाई स्कटल्याण्डले भन्दा पनि केही एनजीओ तथा आइएनजीओले समस्या बनाएका थिए । खेलाडीहरु सधै मित्र हुन्छन्, यद्यपि कहिलेकाहीँ परिस्थितिले समस्या सिर्जना गर्दछ ।’
सन् २०२३ को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा स्कटल्याण्डका खेलाडीले खेल सकिएपछि लामिछानेसँग हात मिलाएका थिएनन् । सो समय लामिछानेमाथि मुद्दा चलिरहेको थियो । खेलमा हार व्यहोरेपछि मैदानबाट बाहिरिने क्रममा स्कटल्याण्डका सबै खेलाडीले नेपाली खेलाडीसँग हात मिलाए पनि लामिछानेसँग तर्किएका थिए ।
स्कटल्याण्डको सो टोलीमा क्रिस सोलसमेत रहेका थिए । पत्रकार सम्मेलनका क्रममा विराटनगरको टोली बुधबार अपरान्ह हवाइजहाजमार्फत काठमाडौं जाने बताइएको छ ।
काठमाडौंमा बाँकी अभ्यास खेल खेल्ने जनाएको किंग्सले विदेशी खेलाडीले समेत टोलीमा आवद्ध जनाउने प्रस्टाएको छ । किंग्सले मंसिर ५ गतेबाट विराटनगरमा अभ्यास गर्दै आएको थियो ।
सो क्रममा मार्की लामिछानेले शनिबार एक दिन अभ्यास गरेका थिए ।



















