
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४ / २५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण विक्रम शाही समग्रमा ११–अन्डर २ सय ५ को स्कोरमा शीर्ष स्थानमा कायमै रहेका छन् ।
उनले आज १–अन्डर ७१ को स्कोर निकाल्दा एमेच्योरद्वय सद्भाव आचार्य र राहुल बिकेलाई ४ स्ट्रोकले पछि पार्दै उपाधि जित्ने सम्भावनालाई बलियो बनाएका छन् ।
एमेच्योरद्वय सद्भाव र राहुल ५४–होलको समाप्तिमा ७–अन्डर २ सय ९ को स्कोरमा संयुक्त रुपमा दोस्रो स्थानमा रहे । गोकर्ण गल्फ क्लबमा आज डिफेन्डिङ च्याम्पियन सद्भावले दिनको उत्कृष्ट कार्ड निकाले ।
६–अन्डर ६६ को प्रदर्शनमा उनी दोस्रो स्थानमा उक्लिए । राहुलले २–अन्डर ७० को स्कोर दर्ज गरे । धरानका प्रो निरज तामाङले १–अन्डर ७१ को स्कोर जोडे । समग्रमा ४–अन्डर २ सय १२ सहित चौथो स्थानमा उक्लिए ।
दाबेदार नेपाल नम्बर एक भुवन नगरकोटीले ५–ओभर ७७ को खराब प्रदर्शन गरे । यो प्रदर्शनमा उनी समग्रमा १–अन्डर २ सय १५ सहित पाँचौ स्थानमा तल झरे । जयराम श्रेष्ठले आज १–अन्डर ७१ को स्कोरमा, समग्रमा इभन–पार २ सय १६ को नतिजा निकाल्दै छैटौं स्थानमा छन् ।
समग्रमा २–ओभर २ सय १८ सहित रवि खड्का, कृष्णमान राजबाहक, राजेन्द्र थापा मगर र सुनिल केसीले संयुक्त रुपमा सातौं स्थान बाँडे । रवि र कृष्णमानले समान १–अन्डर ७१ मा तेस्रो दिनको खेल सकाए । राजेन्द्रले २–ओभर ७४ खेले ।
फाइनल ग्रुपमा खेलेका सुनिलले बिर्सनलायक ९–ओभर ८१ को स्कोर निकाले । यो स्कोरमा उनी ५ स्थान तल झरे । अनुभवी तोरणले तेस्रो दिनको सुरूवात सानदार गरे । पहिलो, दोस्रो, पाँचौं र छैटौं होलमा बर्डी प्रहार गरे ।
६ होल सकिँदा ४–अन्डर स्कोर गरिसकेका थिए भने नवौं होलको बोगीले फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । तर, यसपछि ब्याक नाइनमा तोरणले लय गुमाए । १२ औं, १५ औं र १६ औं होलमा एक–एक सट खेर फाले । १३ औं होलको बर्डीका बाबजुद ब्याक नाइन २–ओभर ३८ मा सकाउन बाध्य भए ।
तर, पनि अन्तिम १८ होलको खेल बाँकी छँदा उनले आफ्नो अग्रता ४ स्ट्रोकमा पुर्याएका छन् । सद्भावले दिनकै उत्कृष्ट स्कोर कार्ड तयार गर्ने क्रममा कूल ७ बर्डी प्रहार गरे ।
पहिलो, तेस्रो र सातौं होलमा १–१ सट बचाउँदा फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । यसपछि ११ औं देखि १४ औं होलमा लगातार ४ बर्डी प्रहार गरे । १५ औं होलको बोगीले ब्याक नाइन ३–अन्डर ३३ मा पूरा गरे ।
अर्का एमेच्योर राहुलले सातौं र नवौं होलको बर्डीको मद्दतमा फ्रन्ट नाइन २–अन्डर ३४ मा पूरा गरे । ११ औं होलको बोगीविरूद्ध १५ औं होलको बर्डीले ब्याक नाइन इभन–पार ३६ मा सकाए ।
चौथो स्थानमा रहेका निरजले फ्रन्ट नाइन १–ओभर ३७ र ब्याक नाइन २–अन्डर ३४ मा खेले । उनले पहिलो र सोह्रौं होलमा १–१ सट खेर फाले भने १२ औं, १५ औं र १७ औं होलमा बर्डीको सफलता प्राप्त गरे ।
४ दिनसम्म चल्ने प्रतियोगिताको कूल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ । जहाँ विजेताले १ लाख ५० हजार, दोस्रो र तेस्रो हुने खेलाडीहरुले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्नेछन् ।
शीर्ष २१ मा पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।



















