एनपीएल खेलका क्रममा भीडमा च्यापिएर २ प्रहरीसहित ७ जना घाइते

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १५, शनिबार १९:२४

काठमाडौं । कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल)को खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर २ प्रहरीसहित ७ जना घाइते भउका छन् ।

खेल हेर्न गएका दर्शकहरुको भीड भएपछि धकेलाधकेल हुँदा झडपका क्रममा घाइते भएका हुन् ।

शनिबार विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच भएको उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर २ जना प्रहरीसहित ७ जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

घाइते हुनेमा रुपन्देहीको सिद्धार्थनगर घर भई बानेश्वरमा बस्दै आएका २५ वर्षीय जयन श्रेष्ठ, धादिङको खनियावास घर भई केन्द्रीय प्रहरी विशेष कार्यदल कपन दरबन्दी रहेका संघीय संसद् सुरक्षा बेस बानेश्वरमा कार्यरत प्रहरी जवान अजय तामाङ र जुम्ला घर भई सोही बेसमा कार्यरत प्रहरी दानबहादुर राउत छन् ।

गुल्मीको कालीगण्डकी घर भई बानेश्वरमा बस्दै आएका २९ वर्षीय शिशिर गौतम, कपिलवस्तु घर भई काठमाडौंको सीतापाइलामा बस्दै आएका ३२ वर्षीय केशव आचार्य, बैतडीका केशव नेंगी र रुकुम पश्चिमको मुसिकोट घर भई काठमाडौमा बस्दै आएका ३२ वर्षीय प्रेम खड्गी पनि घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये प्रहरी जवान तामाङको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । बाँसबारीस्थित न्यूरो अस्पतालमा उनको उपचार भइरहेको छ ।

काठमाडौंका विभिन्न अस्पतालमा अरू घाइतेको उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.