
काठमाडौं । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई पराजित गरेको छ ।
टस हारेर पहिलो ब्याटिङको मौका पाएको काठमाडौंले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रनमै समेटियो । काठमाडौंका सुमित महर्जनले ४१ बलमा सर्वाधिक २९ रन, माइकल लेभिटले १६ बलमा ४ चौका र १ छक्काको सहयोगमा २५ रन, डान डाउथवेटले १९ र शंकर रानाले १६ रन बनाए ।
अन्य कुनै पनि खेलाडीले दोहोर अंक बनाउन सकेनन् । चितवनका सोहेल तन्भिरले ५, रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टेइनले समान १–१ विकेट लिए ।
चितवनले लक्ष्य भेटाउने क्रममा १७ ओभरमा १ बलमा ५ विकेटको गुमाउँदै १ सय १४ रन बनाएर विजयी भयो । सन्तोष कार्कीले २८ रन, लुक बेन्केनस्टेइनले २२ रन, हसन इशाखिलले १२ रन, शरद भेषवाकर, कुशल मल्ल र रवि भोपाराले समान ११–११ रन बनाए ।
बलिङमा काठमाडौंका साहव आलमले ३, जेरार्ड इरास्मस र डान डाउथवेटले समान १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच चितवनका सोहेल तन्भिर भए ।
जितसँगै चितवनले २ अंक जोडेको छ ।
त्यसैगरी, दोस्रो खेल कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच खेल जारी छ । टस जितेर कर्णालीले पहिलो ब्याटिङ थालेको छ ।



















